जनसंख्या बढाउने जुक्ति:चैत १ गतेदेखि धेरै बच्चा जन्माउनेलाई धेरै भत्ता !

फागुन २६ – मुलुकको अधिकांश भागमा गरिबी र भोकमरीका कारकका रुपमा ठूलो परिवार र रोजगारको अवसर कम हुनुलाई लिइन्छ । तर इलाम नगरपालिकाले भने अन्य नगरपालिकाभन्दा पृथक रणनीति तय गरेको छ ।

जनसंख्या वृद्धिदर घटेको भन्दै नगरपालिकाले जति बढी सन्तान जन्मायो उति नै बढी भत्ता दिने निर्णय गरेको छ । बसाइँ सराइ, व्यस्त जीवनशैली र सुविधाभोगी चरित्रका कारण जनसंख्या वृद्धिद्धर घटेको निष्कर्षसहित नगरपालिकाले धेरै बच्चा जन्माउन प्रोत्साहन गर्ने रणनीति अघि सारेको हो ।

नगरपालिकाले विगतमा सुत्केरीलाई दिने पोषण सुविधालाई परिवर्तन गर्दै आगामी १ चैतबाट लागू हुने गरी सुत्केरी सेवामा वृद्धि गरेको समाचारमा उल्लेख छ । नगरपालिकाले दुईवटासम्म बच्चा हुनेलाई २ हजार, ३ वटा बच्चा हुनेलाई ३ हजार, पाँचवटा र सोभन्दा बढी बच्चा हुनेलाई ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ ।

नगरपालिकाको शुक्रबार बसेको बैठकले प्रत्येक बच्चा जन्मिँदा सुत्केरी महिलाका पतिलाई १५ दिन बिदा दिने निर्णय पनि गरेको छ । ‘इलामको जनसंख्याको वृद्धिदर घट्दो छ, जहाँ जनसंख्या धेरै हुन्छ, त्यहाँ सुविधा पनि बढी हुन्छ,’ नगरप्रमुख महेश बस्नेतले भने, ‘२० वर्षपछि इलाम नगरपालिकालाई उपमहानगरपालिका बनाउन पनि दुई लाख जनसंख्या चाहिन्छ, त्यसैले जनसंख्या बढाउने रणनीतिमा छौं।’

यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।