सात महिनामा करिब ६ करोड कर्जा प्रवाह

रसुवा– रसुवाको स्याफ्रुमा रहेको डिप्रोक्स लघुवित्त विकास बैंकले दुईवटा स्थानीय तहमा करिब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

वित्तीय सेवामार्फत महिला सशक्तीकरणसहित गरिबी निवारणका लागि जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकाको १० वटा वडामा यो आर्थिक वर्षको सात महिनामा मात्रै पाँच करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रवाह गरिएको कर्जामध्ये गत पुस मसान्तसम्ममा चार करोड ९६ लाख रुपैयाँ असुली भएको शाखाले जनाएको छ । २०६७ देखि लगानी गर्दै आएको शाखाले पाँच करोड ६३ लाख रकम उठाउन बाँकी छ ।

बैंकले स्याफ्रुमा २०६७ माघमा शाखा स्थापना गरेको थियो। जिल्लाको माथिल्लो क्षेत्रका साविकका नौवटा गाविस कार्यक्षेत्र बनाएर स्थापना गरिएको शाखामा अहिले एक हजार दुई सय ८८ सदस्य रहेका छन् ।

संघीय संरचना अनुसार गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा पर्ने ११ वडामध्ये १० वडामा बिनाधितो सामूहिक जमानीमा कर्जा प्रवाह गरिरहेको शाखा प्रबन्धक सन्तोष देवकोटाले बताए। नागरिक बाट