एक वर्षमा १२३ मेगावाट विद्युत् उत्पादन गर्ने

फाल्गुन २८, २०७४ : रसुवामा निर्माणाधिन ४ वटा जलविद्युत् आयोजनाले अबको एक वर्ष भित्र १ सय २३ मेगावाट विधुत् उत्पादन गर्ने भएको छ ।

आगामी एक वर्ष भित्रमा रसुवामा १ सय २३ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित निर्माण कार्य तीव्र पारिएको आयोजनाहरुले जनाएका छन् ।

६ दशमलव ४२ मेगावाट क्षमताको माथिल्लो मैलुङ ए, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको सान्जेनले आगामी फागुन महिना भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छन् ।

चार वटै आयोजना समयमै सम्पन्न भएमा अबको एक वर्ष भित्र १ सय २३ दशमलव ७२ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।

जिल्लामा अहिले एक दर्जन भन्दा बढी जलविद्युत् आयोजनाहरु निर्माणको चरणमा रहेका छन् ।