साउदीमा पनि मनाइयो सोनाम ल्होछार

नुवाकोट एक्स्प्रेस संवाददाता, ५ फागुन / रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरब पुगेका तामाङ समुदायले हिजो साउदी अरबको जेद्दा शहरमा एक भब्य कार्यक्रम गरि सोनाम ल्होछार मनाएको छ ।

मौलिक कला, संस्कार, संस्कृति, धर्म, भाषा, परम्परा र पहिचानलाई जोगाइराख्नुको साथै यसको बिकास, उत्थान, सम्बर्द्धन र प्रबर्द्धन गर्नु पर्छ भन्ने अभिप्रायले स्थापित नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरबले बिगत झैं यस बर्ष पनि तामाङ समुदायको राष्ट्रिय धार्मिक-साँस्कृतिक महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार चरा बर्गको बिदाइ गरि नयाँ ल्हो अर्थात (मन्जुश्री सम्वत) २८५४ खि/नागी ल्हो (कुकुर वर्ग) को स्वागत गरि हिजो १६ फेब्रुअरी २०१८ शुक्रवारका दिन ल्होछार मनाइएको हो ।

निर्धारित समय बिहान ११ बजेबाट शुरु भएको “सोनाम ल्होछार विशेष संस्कृतिक कार्यक्रम ” साउदी अरब जेद्दाको सराफिया स्थित इम्पाला गार्डेन रेष्टुरेन्टको कार्यक्रम हलमा भएको थियो । आयोजक तामाङ घेदुङ प्रवास शाखा साउदी अरबका महासचिव नबराज घिसिङ तामाङले संचालन गरेको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष दिल बहादुर थिङ तामाङ सभापति रहेको थिए ।

नेपाली महावाणिज्य दूतावास जेद्दाका कार्यवाहक महावाणिज्यदुत रेवती रमण पौडेलको प्रमुख अतिथि रहेको ल्होछार कार्यक्रममा वाणिज्यदुत मनहरी दङगल विशेष अतिथि, दूतावासका श्रम सहचारीहरु राजु कुँवर र झपलाल मगर लगायत साउदी पश्चिम् क्षेत्रमा आबद्ध विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले सोनाम ल्होछारको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए । औपचारिक कार्यक्रम लगत्तै एक बिशेष समयमा पि एन सि सि को समन्वयमा थानेश्वर भुसाल उद्दार अभियानमा साउदी पश्चिम क्षेत्रमा क्रियाशील भएर रकम संकलन गरि सहयोग पुर्याएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई पि एन सि सि साउदी संयोजक अन्जन पोखरेल तथा ल्होछार कार्यक्रमका प्रमुख अतिथि रेवती रमण पौडेलले संयुक्त रुपमा सम्मान पत्रले सम्मान गर्दै सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

साथै कार्यवाहक महावाणिज्यदुत रेवती रमण पौडेलले थानेश्वर छिटोभन्दा छिटो जेलमुक्त गराउन आफुहरु लगिपरेको र चाडैं नै खुसीको समाचार सुनाउनमा आफुहरु आतुर रहेको जानकारी गराएका थिए । त्यसैगरि सोनाम ल्होछार कार्यक्रममा दुबै मृगौला पीडित तेमाल गाउँपालिका वडा नं. ९ चोपटार, काभ्रे निवासी भोज कुमार तामाङको लागि साउदी १५ सय रियल अर्थात् नेपाली ४० हजार भन्दा धेरै रकम समेत उठाउन सफल भएका थिए ।

सोनाम ल्होछार कार्यक्रमलाई अल्मराइ कम्पनी र दुकान कम्पनीले प्रयोजन गरेका थिए भने मिडिया पार्टनरमा सैलुङ अनलाइन रहेका थिए । कार्यक्रमको दोस्रो चरण अन्तर्गत भएको अनौपचारिक अर्थात सांस्कृतिक कार्यक्रम आयोजक संस्थाका सल्लाहकार सुप्रीम गोले तामाङले चलाएको कार्यक्रममा विभिन्न मौलिक संस्कृति झल्किने प्रस्तुतिहरु थियो भने स्थानीय चर्चित कलाकारहरुको आ-आफ्नो बेजोड सांगीतिक प्रस्तुतिहरु देखाएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

तामाङ घेदुङ साउदी अरबका महिला कार्यसमिती सदस्यद्वय शन्ती तामाङ र शान्ता तामाङको ” फ्याफुल्ला फ्याफुल्ला ” तामाङ गीतको नाचले सांस्कृतिक कार्यक्रमको सुरुवातमै माहोल मज्जाले तताएका थिए ।

त्यसै गरि गायक दिनेश क्षेत्री र ब्यान्ड , राजन तामाङ , खिम गुरुङ, दिया रिजाल, खोबिन गुरुङ, सिम्रन पुन मगर , अनिश बम्जन, अर्पित मगर, कृष्ण श्रेष्ठ ,धन बहादुर गुरुङ ,गुराँस राई, सगर लामा,राम बहादुर स्यङ्तान लगायतले आकर्षक प्रस्तुति दिएर सबैलाई मनोरञ्जन दिलाएका थिए ।