स्वेच्छिक अवकाशमा जान नुवाकोटका ५ कार्यालय प्रमुखको आबेदन

नुवाकोट एक्स्प्रेस, ११ फागुन : संघीयताको कार्यान्वयसँगै सरकारी कर्मचारी व्यबस्थापनको लागी सामान्य मन्त्रालयले समायोजनामा जान नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि खुलाएको ४५ दिने सूचनामा नुवाकोटमा कार्यालय प्रमुखहरुले पनि आवेदन दिएका छन् ।

अघिल्लो देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकाश सम्बन्धी प्रस्तावलाई स्वीकृत गरेपछि सामान्य प्रशासन मन्त्रालयले निवेदन दिन दिएको समयसीमा सकिनै लाग्दा नुवाकोटमा रहेका पाँच कार्यालयका प्रमुखले आवेदन दिएका छन् । आवेदन दिने कार्यालय प्रमुख उपसचिव र अधिकृततहका रहेका छन् ।

अन्यमा कार्यालय सहयोगीदेखि नायवसुब्बातहमा कार्यरत कर्मचारीहरु पनि रहेका छन् । स्वेच्छिक अवकाश चाहने कर्मचारीको आवेदन सम्बन्धित कार्यालयले संकलन गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइरहोक छन् ।

स्वेच्छिक अवकास चाहने कर्मचारीले निजामति किताब खाना ललितपुरमा नै गएर समेत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । नेपाल सरकारकाले स्वेच्छिक अवकासका लागि ५० वर्ष उमेर पुगेका कर्मचारीहरुले आफ्नो कागजात रुजू गराएपछि आवेदन दिनसक्ने व्यवस्था मिलाएको छ ।

५० वर्ष उमेर पुगेका र पेन्सन पाउने मापदण्ड पुगेका कर्मचारीले स्वेच्छिक अवकाशको सरकारी योजनामा समावेश हुन पाउने व्यबस्था मिलाइएको छ ।

निजामती मात्र नभई स्वास्थ्य सेवा तथा संसद सेवामा कार्यरत कर्मचारीलाई समेत स्वेच्छिक अवकाश लिन पाउने व्यवस्था गरी आवेदन संकलन यही फागुन १३ गतेसम्म दिनसक्ने व्यबस्था गरिएको छ ।

सरकारी अवकाश योजनामा सामेल भएर अवकास पाउने कर्मचारीले ७ वर्षको तलब बराबर एकमुष्ट रकम पाउने सुविधा दिन लागिएको छ । स्वच्छिक अवकासको योजनामा सामेल हुन आवेदन दिएका कर्मचारीले आवेदन फिर्ता लिन नपाउने व्यबस्था रहेकाले प्रक्रिया पूरा भएकाहरुको स्वतः स्वीकृत हुने व्यवस्था गरिएको छ ।