शाखा अधिकृतको प्रारम्भिकको नतिजा प्रकाशित

११ फागुन, काठमाडौं । लोक सेवा आयोगले गत २०७४-१०-२७ गते सञ्चालन गरेको राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत पदको प्रथम चरणको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

परीक्षामा जम्मा २१,२२१ जना सहभागी भएकोमा ४०७२ जना मात्र उत्तीर्ण भएका छन् । लोकसेवा आयोगका अनुसार कुल परीक्षार्थीमध्ये जम्मा १९.१९ प्रतिशत मात्र शाखा अधिकृत पदको प्रथम चरणको परीक्षामा उत्तीर्ण हुन सफल भएका छन् ।

कुल १०० पूर्णाङ्कको वस्तुगत परीक्षामा १ सय अंकलाई प्राप्तांक तोकिएको थियो । प्रथम चरणमा उत्तीर्ण परीक्षार्थीहरु मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् ।

लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको अप्राविधिकतर्फ शाखा अधिकृत पदमा आरक्षित कोटातर्फ परीक्षा दिनेहरुले समेत पहिलो चरणको परीक्षा अनिवार्यरुपमा उत्तीर्ण गर्नुपर्ने नियम लागु गरेको छ ।

यसअघि समावेशी समूहका परीक्षार्थीहरुले प्रथम चरणको प्रारम्भिक परीक्षामा अनुत्तीर्ण भएपनि दोश्रो चरणको परीक्षामा सहभागी हुन पाउथे ।

यसका साथै लोकसेवा आयोगले प्रथम चरणमा परीक्षार्थीले प्राप्त गरेको कुल अंकको सबै अंक दोस्रो चरणको परीक्षामा प्राप्त गरेको अंकमा थप गरी लिखित परीक्षाको अन्तिम परीक्षाफल प्रकाशित गर्ने गरेको छ ।

प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका ४०७२ जना परीक्षार्थीबाटै लोकसेवा आयोगले लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण र अन्तरवार्ता परीक्षामा प्राप्त अंकका आधारमा योग्यताक्रम प्रकाशित गरी माग गरिएका उमेद्वारको छनोट गर्नेछ ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालय अनामनगरको वि.नं.१६५३०-१६५३६/०७४-७५ (खुला तथा समावेशी) अप्राविधिक तर्फको शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा

प्रतिकृया दिनुहोस