संसारकै धनीबाट अति गरिब बन्न पुगेको एउटा देशको कथा

काठमाडौं– नाउरु प्रशान्त महासागरको लगभग मध्य भागमा रहेको देश हो । यो लगभग आठ वर्ग किलोमिटरमा फैलिएको छ । प्रति व्यक्तिआयको हिसाबमा यो देश संसारको सबैभन्दा धनी राष्ट्र थियो ।

आज यो विश्वको सबैभन्दा गरिब देशमा पर्छ । आज यसलाई यो टापुमा रहेको सुधार गृहले मात्र चिनिन्छ । जुन मानव अधिकार दुरुपयोगको लागि बदनाम रहेको छ ।

सबै देश अल्पविकसितबाट विकसिततर्फ यात्रा गरिरहदा नाउरुमा भने किन उल्टो भयो ?

नाउरुको अवस्थिति अष्ट्रेलियाको १८८१ किलोमिटर उत्तर–पूर्वमा प्रशान्त महासागरमा रहेको छ । समुन्द्रको लामो यात्रा बीचमा भेटिने एउटै मात्र टापु भएकाले यो समुन्द्री चराको अनिवार्य ट्रान्सिट हुने गर्छ । लाखौं वर्ष यो उपक्रम चल्दा सो टापुमा चराको विस्टाको बाक्लो तह जम्मा भयो ।

यो विस्टाले गर्दा त्यहाँको माटोमा वनस्पतीको लागि अत्यन्त महत्वपूर्ण तत्व फोसफेट व्याप्त भयो । फोस्फोटको सबैभन्दा महत्वपुर्ण उपयोग भनेको तिनले वनस्पतीलाई सुर्यको उर्जा पक्रन सहयोग गर्छ । वनस्पती प्रकाश सश्लेषण प्रकृयाबाट हुर्कने भएकाले फोस्फेट मलको अभिन्न तत्व हो ।

नाउरुले सन् १९६८ मा स्वतन्त्रता प्राप्त गरेपछि यसले आफ्नो यो फोस्फेटले भरिएको माटोलाई उपयोग गर्ने नीति लियो । सन् १९७० को मध्यदेखि १९८० को प्रारम्भबीचमा यो ४३०० जनसङ्ख्या भएको सानो मुलुकले प्रति व्यक्ति सम्पत्तिमा कुनै पनि तेल वा प्रविधिले सम्पन्न मुलुकलाई धेरै पछि पारेको थियो ।

केही तथ्याङ्क अनुसार सो मुलुकसँग आजको मूल्यअनुसार २.५ अर्ब डलर आय थियो । यसले प्रति व्यक्ति पाँच लाख डलर भन्दा बढी पर्न जान्थ्यो । सो समय समाजका हरेक आवश्यकताहरुः शिक्षा , स्वास्थ सेवा, यातायात लगभग निःशुल्क थिए । त्यसको अतिरिक्त नाउरुमा करको रुपमा एक पैसा तिर्नुपर्दैन थियो । सम्पन्नता र त्यसको समान वितरणले गर्दा अपराध लगभग शुन्य थियो ।

त्यसो भए के भयो ?

अनुमान गर्न सकिने कुरा फोस्फेट सकियो । र, सरकारले त्यस्तो दिन आउँछ भनेर कल्पनै नगरेझैं उसँग कुनै योजनानै थिएन । माटोमा फोस्फेटको प्रचुरताले गर्दा कुनै समय संसारकै मलिलो यहाँको जमिनबाट फोस्फेट सकिएपछि अब यहाँ उब्जनीको सम्भावना पनि सकियो ।

विगतमा सम्पन्नताको समय यहाँका जनतालाई निर्यात गरेको खाद्यान्न प्रयोग गर्ने बानी परेको थियो – विशेष प्याकिङ्ग गरिएको सामाग्री । पछि पनि यो लतले छाडेन । यही कारणले यो देश संसारको सबैभन्दा मोटा नागरिक रहने देश बनेको छ । सायद विपत्ती आउदा एक्लै आउँदैन ।

कमजोर वित्त व्यवस्थापनका कारणले राज्य कोष रित्तिदै गर्दा सरकारले बाहिरबाट जम्मा हुन आउने रकमलाई गोप्य राख्ने नीति लियो । यो नीति सोभियत संघको पतनको समयमा आएको थियो । सोभियत संघको पतन भएपछि रसियामा उदाएका ठूला अपराधिक सिन्डीकेटहरुले दशौं अर्ब डलर नाउरुमा लगेर सेतो धन बनाउन थाले ।

यसले एक त राज्यका स्रोत छिट्टै बाहिरियो भने पछि यही कारणले नाउरुले अन्तराष्ट्रिय नाकाबन्धी भोग्यो । अस्तित्वरक्षाको अन्तिम प्रयास स्वरुप यो राज्यले आफ्नो सबैभन्दा नजिकको शक्ति राष्ट्र अष्ट्रेलियाको शरणमा प¥यो । विश्व राजनीतिमा कमजोर र बलियो राष्ट्रबीचको सहमतिमा जे हुनेगर्छ यहाँ पनि त्यही भयो ।

सन् २०००को शुरुतिर अष्ट्रेलियाबाट आर्थिक सहयोगको सर्तमा नाउरुले अनाधिकृत रुपमा अष्टे«लिया प्रवेश गर्न लाग्दा पक्रिएका सयांै श्रीलङ्कन र पाकिस्तानी शहणार्थी लिन तयार भयो । साथमा सहणार्थीका केही बालबच्चाहरु पनि थिए । यसलाई ‘प्रशान्तिय समाधान’ नाम दिइयो ।

त्यो बेला देखि अष्ट्रेलिया प्रवेश गर्न लाग्दा पक्रिएका आप्रवासीहरु नाउरु र यस्तै सम्झौता भएको पपुवा न्यूगिनीमा बनाइएका सुधार केन्द्रहरुमा पठाइन्छ । यी केन्द्रको अवस्था जेलको जस्तो रहेको विभिन्न रिपोर्टहरुले देखाएका छन् । यीनको अन्तराष्ट्रिय मानव अधिकार समूहबाट आलोचना हुने गरेको छ ।

सन् १९७५ देखि २०१७ बीचमा नाउरु प्रतिव्यक्ति आयको आधारमा विश्वको सबैभन्दा धनी राष्ट्रबाट सबैभन्दा गरिब पाँच राष्ट्रमध्ये एकमा पुगेको छ । सब चराहरुको विष्टाको कारण ! (एजेन्सीको सहयोगमा / श्रवण उप्रेती: रातोपाटी)

प्रतिकृया दिनुहोस