बिहिबार, अशोज २, २०७६
पुर्वसांसद गणेश पण्डितको निधनमा शोक प्रस्ताव पारित -

पुर्वसांसद गणेश पण्डितको निधनमा शोक प्रस्ताव पारित



काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले पूर्वसांसद गणेश पण्डितको निधनप्रति शोक प्रकट गर्दै ‘शोक प्रस्ताव’ पारित गरेको छ । सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।

विसं २०४८ मा तत्कालीन नेकपा(एमाले)का तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा कम्युनिष्ट आन्दोलनका योद्धा पण्डित फागुन २१ गते नुवाकोटको एक कार्यक्रममा सरिक हुन जाने क्रममा हृदयघातबाट गम्भीर घाइते हुनुभएको थियो ।

कबिलासको चमेरे गुफाको निरिक्षण गर्न क्रममा अचानक हृदयघात भएपछी काङ्ग्रेस नेता माधबप्रसाद खनाल लगायतले उहाँलाई तत्कालै काठमाडौ ल्याउनुभएको थियो र मनमोहन कार्डियोलोजिक सेन्टरका चिकित्सकहरुले उहाँलाई मृत घोषणा गरेका थिए ।

त्यसअघि उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘विशेष आर्थिक क्षेत्र(पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ बैठकमा पेश गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २६ गते मध्याह्न १२ बजे बस्नेछ ।

पण्डितको निधनबाट नेकपा स्तब्ध :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको असामयिक निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ ।

पार्टी महासचिव विष्णु पौडेलले आज जारी गरेको शोक सन्देशमा पञ्चायतकालमा नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि पण्डितले निर्वाह गरेको भूमिका स्मरणीय रहेको बताउँदै पार्टीले कम्युनिस्ट आन्दोलनले एक समर्पित नेता गुमाएको उल्लेख गरेका छन् ।

नेकपाले दिवङ्गत पण्डितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनकी जीवनसँगिनी सावित्री पण्डित, छोरा राजकुमार, किशोर र दिनेश तथा छोरी कल्पना, सफला र सुलोचनासहित शोककुल परिवारजन र आफन्तहरुप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

विसं २०४८ को आमनिर्वाचनमा नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनि असल शिक्षक र सङ्गठकका रूपमा परिचित थिए । ७२ वर्षको उमेरमा यही फागुन २१ गते उनको निधन भएको हो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology