राक्षस लोग्ने

‘कभि साम ढले तो मेरे दिल में आजा ना
कभि चाँद खिले तो मेरे दिल में आजा ना …
मगर आन इस तरह तुम
फिर यहाँ से नाजा ना तुम

म झसंग ब्युझिएँ । बाहिर हेरेँ, अँध्यारो थियो। सिरानीमुनि रहेको मेरो मोबाइलमा यो गीत गुञ्जिरहेको थियो । मोबाइल हेरेँ, फोन आएको रहेछ अम्बुको ।
हेलो ? के भयो अम्बु, यति राति किन फोन गरेकी ?
ऊ रुँदै थिई ।

‘प्लीज, हेल्प मि अञ्जना ! म मर्न आँटे । बानेश्वरको रोडमा छु । प्लिज आईज न ।’
म तर्सिएँ । मनमा ठूलो भुइँचालो गयो । केही बोल्न सकिनँ ।

‘तिमी त्यही बस म आईहालेँ,’ भन्दै फोन राखेँ । जुरुक्क बिस्तराबाट उठेँ । बल्ल चार बजेको रहेछ । अँध्यारोको घुम्टोले सबै देखिने वस्तुलाई चुर्लुम्म छोपेको थियो । वरिपरिका घरहरू काला मात्र देखिन्थे । आकाशमा रहेका लाखौं ताराको चमकले धर्तीमा मलिन प्रकाश मात्र फिंजिएको थियो । लोडसेडिङ र जाडोका कारण सिंगो शहर निस्तब्ध थियो । कताकता कुकुरको भुकाइबाहेक विल्कुल शून्य थियो शहर ।

सानो गल्लीदेखि भित्र एउटा पुरानो घरमा थियो मेरो डेरा । मोबाइलको पिल्पिले लाइट बालेर स्कूटर बाहिर निकालेँ । मलाई याद नै भएन कि मैले ड्रेस पनि चेन्ज गर्नुपर्छ भन्ने । जुन कपडामा म निदाएँ, उठेर त्यही कपडामा हिँडेछु । ह्या … ! बिहानै छ केही फरक पर्दैन जस्तो लाग्यो । हुन पनि जाडोका कारणले बिहानको चार बजिसक्दा पनि गल्ली र मुल सडक पूरापूर खाली थियो, १–२ वटा दूध बोकेका गाडी सिवाय ।

मर्निङवाक गर्नेहरुको पदचाप पनि सुनिएन । म सरासर चोकतिर हानिएँ । भत्किएको घरको पर्खालमा अडेस लगाएर थुचुक्क बसेकी थिई अम्बु । ऊ मलाई गर्लाम्म अंगालो हालेर भक्कानिँदै रुन थाली । मोबाइलको लाइट बालेर उसको अनुहार हेरेँ, सुन्निएको अनुहार, आँखामुनि बसेको निलो दाग, मधुर प्रकाशमा पनि प्रस्ट देखिएको थियो । दाहिने हात चलाउन सक्दिनथी । यो सब कसरी भयो ? अशोकले आज पनि मलाई यो हालमा पुर्‍यायो !

एउटा स्वास्नी मान्छे जहिले पनि लोग्नेको सुखमा रमाउँछे र लोग्नेकै खुसीलाई आफ्नो खुसी ठान्छे तर, लोग्नेहरु स्वास्नीको हरेक क्रियाकलापमा आत्मीय बनेर प्रस्तुत हुन किन सक्दैनन् ? मलाई दिक्क लाग्यो । रिसले म आगो भएँ। उसको हालत एकदमै खराब थियो । हस्पिटल लैजाने सोचेर, ट्याक्सी बोलाएँ ।

अम्बुलाई बल्ल–बल्ल उठाएर ट्याक्सीमा राखेर केएमसीको आकस्मिक कक्षमा लगेँ । आकस्मिक कक्षको उपचारपछि अम्बुलाई भर्ना गर्नुपर्ने जानकारी दिए डाक्टरले । उसलाई आइसियूमा राखेर उपचार शुरू गरियो ।

अञ्जना केसी

कति दुःखलाग्दो थियो मेरो लागि त्यो क्षण । सबैभन्दा नजिककी मेरी संगिनी लोग्नेको यातनाबाट घायल छे र हस्पिटलको मृत्युशैयामा छट्पटाइरहेकी छे । अब त सूर्यले पनि आफ्नो प्रकाश जताततै फिजाउँदै थियो। हुस्सुको च्यादरले शहरलाई छोपिरहेको थियो । एउटा अव्यक्त जिज्ञासाले भित्रैदेखि कोतरेर ल्यायो मलाई । म नर्ससँग अनुमति लिएर आइसियूमैं गएँ । अम्बु अर्धचेत अवस्थामा थिई । मैले बोलाएँ, ऊ सानो स्वरमा बोल्न सक्थी ।

कसरी भयो अम्बु यो सब ?
उसले लामो श्वास फेरी ।

अनि भन्न थाली–
हिजो अफिसबाट अलि छिट्टै फर्किएँ । बत्ती गएकोले काम भएन, चिसो पनि थियो । घर आएर खाना पकाई अशोकलाई धेरैपल्ट फोन गरेँ, फोन अफ थियो । टिभी हेरेर बसिरहेँ, अशोक आउला र खाना खाउँला भनेर । धरै राति भैसक्यो ऊ आएन । म नखाई सुतेकी थिएँ । राति १२ बजे बल्ल रक्सीले मातेर आएको थियो । मैले सोधेँ– ‘आज पनि आउन ढिला गर्नुभयो त ? ढिला हुने भएपछि त जानकारी दिनुपर्छ नि । फोन पनि अफ थियो ।’
एउटी स्वास्नीको नाताले सोध्ने अधिकार त हुन्छ नि ! त्यही अधिकार प्रयोग गरेकी थिएँ ।

‘चुप लाग्ऽऽऽऽ । लाज लाग्दैन घर आई नपुग्दै कराउनलाई ?’ भन्दै तथानाम गाली गर्न थाल्यो । उसले बोलेका घिनलाग्दा कुरा म शब्दमा व्यक्त गर्न सक्दिनँ । म पनि सधै कति कमजोर बन्थे र ! मैले पनि भने, ‘जो चोर उसको ठूलो स्वर, जो ५ बजे अफिस छुटेर १२ बजे रक्सी धोकेर घर आउँदैछ, उसैले यो सब । पापीले त पापको फल नपाएसम्म पाप गर्न नै बेस सम्झदोरहेछ, तपाई त्यही पापी हो भन्दै म सुत्ने उद्देश्यले उसलाई किचेनमा छोडेर बेडरूम गएँ । ऊ पछि–पछि गयो । म सुतेको ठाउँमा गएर मातेको सुरूमा मलाई चलाउन थाल्यो । उसले त्यही गर्‍यो, जो सधैं गरिरहन्छ ।

म वाक्क भएँ, दिक्क भएँ । उसले छोएको पचाउन सक्ने सामर्थ्य रहेन ममा । जुरुक्क उठेँ, मलाई खपिनसक्नुको रिस उठेको थियो ।

‘मलाई माया, ममता विश्वास होइन कि तपाई भोग्न चाहनुहुन्छ, मलाई यो हालतमा आएर जबर्जस्ती गर्ने प्रयास नगर्नुहोला। सहिसलामत आउनुस् म तपाईलाई मेरो सम्पूर्ण चिज हार्दिकतापूर्वक सुम्पने छु । जथाभावी बोलेर जबर्जस्ती होइन कि प्रेमपूर्वक । तपाई मेरो लोग्ने भए पनि जबर्जस्ती गर्नु बलत्कार हो ।’
यसरी शुरु भएको थियो हाम्रो लडाईं ।

‘तेरो मनमा त गम्भीरको याद छ होला नि ! मसँग त के नजिक पर्थिस् त ? गम्भीर तेरो मनबाट कहिले हटेन । गम्भीरको मात्र के कुरा तेरो अफिसका स्टाफ वा हाकिमहरु थुप्रै छन् होला तेरो जीवनमा ।’

ऊ एक्कासी आवेशमा आएर मेरो कपाल समात्यो, टाउको भित्तामा ठोकिदियो। तेरो सुन्दर अनुहार कुरूप बनाइदिन्छु भन्दै अनुहारमा मुड्किले हान्यो । हात पछाडि लगेर भाँचिदियो । म दुःखाई सहन नसकेर भुईंमा लडेँ । म के बोल्न सक्थे र ? हुन त मलाई पनि उसलाई सकि–नसकी कुटौं लागेको थियो । तर सक्दैनथेँ । म एउटा बलियो पुरुषको अगाडि निकै कमजोर थिएँ । हुन त त्यहाँ जतिसुकै ठूलो आवाजको पनि सत्व थिएन । जागृत संवेदनाको बीचमा पो आवाज र प्रतिरोधको अर्थ रहन्छ । उसको मनमा त संवेदना भन्ने चिजको अनिकाल छ ।

ऊ सुक्क गर्दै फेरि बोल्न थाली ।

त्यसपछि म केही बोल्न सक्ने अवस्थामा थिइनँ । यसपल्ट म बेहोस पनि भइनँ । तँलाई थाह छ नि म यस्ता कयौं घटनाबाट गुज्रिसकेकी छु । उसले आज पनि गम्भीरकै कुरा लिएर यो सब गर्‍यो ।

आइसियूको बेडमा सुताइएकी अम्बुले कुर्ताको सलले आँखा पुछी ।

डाक्टरहरु आए । उनीहरुले भने, ‘उहाँको टाउको भित्र गहिरो चोट छ । सिटी स्क्यान गर्नुपर्छ ।’

मलाई बाहिर निस्कन अनुरोध गरियो । म बाहिर निस्किएँ । मैले फेरि अम्बुको जिन्दगीको पाना पल्टाउन थाले । अहो ! कति पीडादायक चित्कारहरु भेटिन्छन् उसको जिन्दगीमा । कतिपल्ट जलेको छ उसको मन । अनि कतिपल्ट पिल्सिएकी छे ऊ पीडामा, …..ऊफ् !

बाल्यकालदेखिका संगी थियौं हामी । एसएलसी दिएर यो कोलाहलपूर्ण शहरमा प्रवेश गरेका थियौं । उसको परिवारको आर्थिक हैसियत राम्रो थियो । काठमाडौंमा घर हामी गाऊँमा हुँदा नै बनाएका थिए उसका बाबाले । सधैं सुखी छ लाग्थ्यो अम्बु ।

तर, गरिबको आर्थिक कठिनाइभन्दा धनीहरुका आन्तरिक पीडाहरु दर्दनाक हुँदारहेछन् ।

सानैदेखि विद्रोही स्वाभावकी अम्बु सुन्दरताकी खानी थिई । उसको अग्लो शरीरमा खोट लगाउने ठाउँ भेटिंदैनथ्यो तर, प्रेममा कहिले विश्वास गर्दैनथी ।

उसलाई आउने कैयौं प्रेम प्रस्ताव हाँसोमा उडाउने अम्बु अन्ततः गम्भीरको प्रेममा परी । उसको जिन्दगीमा भर्खरै प्रेमको पालुवा पलाउँदै थियो । त्यति नै बेला उसको बिहेको कुरा चल्यो । उसको दाइको नजिकको साथी थियो अशोक । शहरमा घर, पढे–लेखेको, एनजिओमा जागिर खाने एउटा मात्र छोरा । अब के चाहियो ! पाठेघरको क्यान्सरबाट थला परेकी अम्बुकी आमा सबैभन्दा बढी खुसी भएकी थिइन् । छोरीको जिम्मा लगाएर मर्न पाए हुन्थ्यो ।

यो कुरा घरमा आउने आफन्त, छिमेकी पाहुना सबैलाई सुनाउन भ्याउँथिन् । त्यसैले पनि आमा र उसको परिवारले एक वचनमा नै अशोकसँग बिहे गरिदिने निर्णय गरे ।

अम्बुका दाइले नसोधेका पनि होइनन् तर अम्बुले ‘म अरुलाई माया गर्छु र उहीसँग बिहे गर्न चाहन्छु’ भनेर दह्रो जवाफ दिन सकिन । किनकि ऊ दोधारमा थिई । गम्भीरसँगको प्रेम झाङ्गिएको थिएन । आफ्नो बिहेको कुरा चलिरहेको भन्नलाई पनि त्यहीबेला गम्भीरसँग सम्पर्क भएन । ऊ अमेरिका थियो । मेल लेखी । फोन गरी तर केही सीप लागेन । गम्भीरको जाँच परेकोले सम्पर्क नभएको कुरा पछि थाहा भयो । यो कुरा अशोकलाई भन्ने निर्णय गरी ।

अशोकलाई उसले एक्लै भेटी । आफ्नो र गम्भीरको सम्बन्धको बारेमा कुरा गर्दै उसले बिहे गर्न नचाहेको कुरा बताई । अफसोच ! अशोकले विभिन्न शब्दमा अम्बुको उपहास गर्‍यो ।

‘यो तिम्रो उमेरको उन्माद हो, उमेरले जन्माएको आकर्षण हो, प्रेम होइन, उसले तिमीलाई बिहे गर्ने उद्देश्यले होइनकी बास्नाका निमित्त नजिक भएको हो । त्यसैले तिमी उसको प्रेमिकाभन्दा मेरी पत्नी भएर खुसी हुन सक्छ्यौं ।’

अम्बुले सोचेकी थिई, एउटा केटा मान्छेले अरुकी प्रेमिकालाई कसरी अपनाउला र ? बिडम्वना! ठ्याक्कै उल्टो भयो । अशोकले अम्बुको परिवारसँग बिहे छिट्टै गर्नुपर्ने कुरा राखेर बिहेको टाइम निश्चित गर्‍यो । अम्बुको आमाको स्वास्थ्य बिग्रिंदै गएकोले पनि केही भनिन आफ्नो परिवारमा । उता गम्भीरलाई भने मेल लेखी । बिचरा अम्बु के गर्न सक्थी र ? हुन त प्रेममा शक्तिको असिम भण्डार हुन्छ तर अम्बुको प्रेम त्यति शक्तिशाली थिएन, प्रेम झाङ्गिएकै थिएन । प्रेममा समझदारी पहिलो शर्त हो तर सम्पूर्ण समझदारी गर्न भ्याएकै थिएनन् । तैपनि अम्बु भन्न चाहन्थी, ‘गम्भीर मलाई यहाँबाट उम्काएर एकान्तमा लैजाऊ । म आत्तिएकी छु, मकै जस्तै हाडीमा भुटभुटिएकी छु, तिमीले सल्काएको प्रेमको आगोमा दनदनी दन्किएकी छु । म यहाँबाट उम्किन चाहन्छु । प्लिज, मलाई यहाँबाट उम्काईदेऊ ।’

समयको कस्तो वियोगान्त हो, समयले अम्बुलाई नयाँ जिन्दगीको सुरुवात बनायो । मैले उसलाई धेरैपल्ट रोएको देखेकी थिएँ, धेरैपल्ट गम्भीरको बारेमा सोचेर छटपटिएको महसुस गरेकी थिएँ । त्यसैले मैले उसलाई सम्झाएकी थिए । अतितको घटनामा अफसोच गर्दै आफ्नो नयाँ वर्तमानलाई निराशजन्य नबनाऊ भनेर । ऊ अब नयाँ जीवनमा खुसीका किरण ल्याउन तल्लिन थिई । प्रेमको वियोगान्त बिर्सन तल्लिन अम्बुले अशोकलाई साँचो रुपमा प्रेम गर्न थालेकी थिई ।

उता अशोक भने हरेक दिन गम्भीरसँग जोडेर कुरा गर्दथ्यो । सानोतिनो कुरामा निहुँ खोज्ने र हात हाल्ने गर्न थालिसकेको थियो । बारम्बारको शारीरिक तथा मानसिक यातनाले अम्बुलाई जीवनयापन गर्न कठिनाई बढ्दै गइरहेको थियो । हुन त अम्बु शहरमा बस्ने पढे–लेखेकी, बैंकमा जागिर गर्ने आत्मनिर्भर नारी हो । ऊ सक्षम छे हरेक दृष्टिकोणले। तर विश्वास कस्ले गर्ने ? ऊ प्रत्येक दिन घरेलु हिंसा खेपिरहेकी छे । त्यो पनि समाजवादी, पढेलेखेको, घरेलु हिंसाको विरुद्धमा जनचेतना फैलाउँदै हिंड्ने, देशको महत्वपूर्ण अंश मानिने बौद्धिक व्यक्तिबाट । ऊ पढे–लेखेकी आत्मनिर्भर नारी भएर पनि समाजले नारीमाथि लगाईदिएको इज्जतको ट्याग र मारे पाप पाले पुण्य भन्ने नारीमाथिको चर्को दमनका वाला कथनको कारण आफू मरेर भए पनि लोग्नेलाई बचाईरहेकी छे ।

मलाई घृणा जागेर आयो । छलफल र सहकार्यबाट समस्या समाधान नगरी धम्की, कुटपिट र यातनाबाट आफ्नो पुरुषत्व देखाउने पुरुषमाथि । नारीलाई मोजमस्ती र खेलाउना ठान्ने पुरुषमाथि ।

मेरो ध्यान भंग गर्दै ‘बिरामीको तपाईको पर्नुहुन्छ ?’ डाक्टरले बोलाउनु भाको छ ।

एक जना पातलो शरीर गरेकी नर्स छेऊमा आएर भनेर भित्रिइन् । म भित्र डाक्टरको छेऊमा गएँ । बिरामीको टाउकोमा रगत जमेको छ । उहाँलाई बचाउने हो भने तत्काल अप्रेशन गर्नुपर्छ । ब्लड चाहिन्छ, लिएर आउनुहोला भन्दै डाक्टर बाहिरिए । म आँखाभरि आँशु लिएर अम्बुलाई बचाउने तरखरमा लागेँ ।

प्रतिकृया दिनुहोस