बिहिबार, अशोज २, २०७६
वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन -

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन



काठमाडौ – वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ । माधवी उपन्यासबाट मदन पुरस्कार जितेका दीक्षित ९७ वर्षका थिए।

उनी केही समय यता बिरामी भइरहेका थिए । केही समयअघि नै उनलाई सुमेरु अस्पतालमा भर्ना गरिएकाे थियाे । त्यहाँबाट डिस्चार्ज गरेर घर ल्याइएका दीक्षित बेहाेस भएपछि पुतलीसडकमा रहेकाे हिमाल अस्पताल पुर्याइएकाे थियाे । उनलाई मुटु, मिर्गाैला र श्वाशप्रश्वास सम्बन्धी समस्या थियाे ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेदः केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति प्रकाशित छन्। उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए।

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ। उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गौरीधारामा भएको थियो।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन्। उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। पत्रकार कनकमणि दीक्षितले ट्वीट गर्दै मदनमणिको निधन भएको जनाएका छन्। उनको पार्थिक शरीर अहिले निवासमै राखिएको छ।

लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे।

दीक्षितका प्रकाशित कृतिहरू-

१. माधवी (उपन्यास, वि.सं. २०३९)

२. चरैवेति (निबन्ध संग्रह, २०४४)

३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)

४. हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९)

५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)

६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)

७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्

८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ

९. कसले जित्यो कसले हार्‍यो? (कथा संग्रह, वि.सं.२०२१)

१०. दशलाख हिरोसिमातिर

११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)

१२. जीवन महाअभियान

१३. ऋग्वेदः केही प्रमुख सूक्त (२०६५ विसं)

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology