बिहिबार, अशोज २, २०७६
नुवाकोटे लाखे नाचको परम्परा र गरिमा -

नुवाकोटे लाखे नाचको परम्परा र गरिमा



रिना खनाल

नुवाकोट – काठमाडौँ उपत्यका र नुवाकोटको चाडपर्ब, रितिरिवाज, धर्मसंस्कृतिमा समानता पाइन्छ । नुवाकोटका अधिकांश नेवार उपत्यकाबाटै व्यापारिक उद्देश्यले बसाईँ सरी आएकाले विभिन्न परम्परागत संस्कृति काठमाडौँकोभन्दा खासै भिन्न छैन । स्थानमा पनि धेरै फरक देखिँदैन । नुवाकोटमा काठमाडौँमा रहे जस्तै असन, इन्द्रचोक, भुटोल बजार, नयाँ बजार रहेका छन् । काठमाडौँकै परम्परागत शैलीमा जात्रा चलाउनेमा नुवाकोट (नुवाकोट दरवार क्षेत्र), त्रिशुली, बट्टार, देवीघाट, बेत्रावतीलगायत क्षेत्रका नेवार समुदाय हुन् ।

नुवाकोट कला र संस्कृतिको धनी जिल्ला भनेर चिनिन्छ । विभिन्न कला र संस्कृतिमध्ये नुवाकोटका बजारमा देखाइने लाखेनाच सबैभन्दा चर्चित छ । आफ्नै मौलिक कला र संस्कृतिले नुवाकोटको पहिचानलाई झल्काउने गर्छ । तीमध्ये लाखेनाच पनि एक हो । यो नाचले यस जिल्लाको लोक संस्कृतिको गरिमा र इतिहासलाई उच्च राखेको छ ।

पूर्वमा तादी, दक्षिणमा त्रिशुली नदीको बीचमा छ, नुवाकोटको सदरमुकाम बिदुर । नेपालको इतिहासका पानाहरु पल्टाउँदा एक पटक पुग्नै पर्ने स्थान हो, नुवाकोट । कला र संस्कृति सँधै कार्य क्षेत्रसँग जोडिएकोले यसको महत्व सबै क्षेत्रमा रहेको छ । लाखेनाचको इतिहास कोट्याउँन कुनै लिखित प्रमाणहरु त छैनन् । तर नेपालको इतिहासमा लाखेनाच गुणकामदेबले चलाए भन्ने मानिन्छ । अग्रजहरुका भनाइअनुसार बजारमा जबदेखि मानवबस्ति बस्न थाल्यो, त्यही समयदेखि नै यो नाच देखाउँदै आएको पाइन्छ । नेवार समुदायमा बढी प्रचलनमा रहेको लाखेनाच बर्षाँैदेखि चल्दै आएको मौलिक, साँस्कृतिक र जातीय पहिचान हो । लाखेनाचको प्रदर्शनले नेवारी समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दै आएको छ । तर जात्राअघि र जात्रापछि हुने नाच या पर्वहरुको प्रदर्शन भने हराइसकेको छ । अथवा भनौँ लोपोन्मुख बन्दै गएको देखिन्छ ।

लाखे भनेको भूत हो । कंसले विजय गरेर शासन चलाइरहेको बखत कृष्णले मार्ने गर्छ, जुन नेवार समुदायको संस्कृति हो । भैरबीका पुजारी धामी हरिमानसिंह डंगोलका अनुसार घण्टाकर्ण (गठ्यामङ्गल) भएपछि लाखे नाच्नको शुभारम्भ हुन्छ । कंसले घण्टको आवाज सुन्नै चाहँदैन । भगवानहरुको नाम लिनै चाहँदैन । लाखेनाच नेवार समुदायको संस्कार हो तर पर्व होइन । नुवाकोट दरवार क्षेत्रमा केही बर्षअघि लाखे नचाउँदा ठूलो लाखे धामीको घरबाट निकालिने र सानो लाखे द्धारे (सरकारी प्रतिनिधि)को घरबाट निकालिने परम्परा रहेको थियो । हाल लाखे एकै स्थानबाट निकालिने गरेको द्धारे महेन्द्रकुमार शाही बताउँछन् । लाखे बन्ने व्यक्ति नेवार मात्र हुने गरेकोमा हाल अन्य समुदायका पनि हुन्छन् ।

नुवाकोटको इतिहासमा सानो लाखेलाई ऐतिहासिक मानिन्छ । जसलाई नाट्यश्वरी ( सरस्वतीको रुप मान्ने गरिन्छ) प्रवेश हुन्छ । नुवाकोटको लाखेमा देबता (नाट्यश्वरी) चढ्ने गर्छ । नुवाकोटको लाखे एकदम सु–सम्पन्न र शक्तिशाली भएकोले त्यतिखेरको राज्य (तत्कालीन राणा शासक ) ले काठमाडौंमा निमन्त्रणा गरेका थिए । शक्ति सम्पन्न सानो लाखेलाई काठमाडौँ उपत्यकाका लाखेहरुसँग प्रतिस्पर्धा गराइएको थियो । नुवाकोटको लाखेले प्रतिस्पर्धामा विजय हाँसिल गरेपछि ठूलो लाखे बकस स्वरुप प्राप्त भएको किम्बदन्ती छ । भूक्तभोगीका अनुसार ठूलोे लाखेलाई तादी नदी र त्रिशुली नदी नकटाउनु भन्ने आदेश दिइएको र दुबै (ठूलो र सानो) लाखेसँगै नचाउँनु, कथमकदापी नदी कटाउनु नै परेमा सरकारसँग स्वकृति लिनु भन्ने रहेको द्धारे महेन्द्रकुमार शाहीले बताए ।

लाखेलाई कंस अथवा राक्षसको रुपमा लिने भएकोले लाखे बन्दा लगाउने मुकुट राक्षसको रुप मानिन्छ । जुन देख्दा एकदमै डर लाग्छ । लाखेले लगाउने चोलो र जामा निकै आकर्षक देखिन्छ । तर मुकुटले डर फैलाउँछ । लाखेनाच हरेक वर्ष घण्टाकर्ण (गठ्यामङ्गल) देखि कृष्ण जन्माष्टमीसम्म नचाइने गरिन्छ । जनैपूर्णिमा र गाइजात्राको दिन भव्यताका साथ नचाइने गरिन्छ । नाच्ने क्रममा लाखे बनेको व्यक्ति बिविध कारणबस नाट्यश्वरी चढेर काम्नाले झन् आकर्षण थप्छ । जनैपूर्णिमाको दिन साततले दरबारदेखि भैरवीमन्दिर क्षेत्रमा नचाइन्छ । यसको भोलिपल्ट अथवा गाइजात्राको दिन इन्द्रचोकमा नचाउने गरिन्छ । लाखेनाच हेर्न आजभोलि पर्यटकहरुको भिड लाग्ने गर्दछ । हातमा क्यामेरा बोक्दै नाचको वरपर फोटो खिच्न र भिडियो कैद गर्न स्वदेशी तथा बिदेशी पर्यटक निकै उत्साहि देखिन्छन् । कतिपय पर्यटकहरुले त नुवाकोटका साथै संस्कतिको बारेमा खोज तथा अनुसन्धान गर्ने गरेको पाइन्छ । नेवार जात र स्थानअनुसार लाखेनाच फरक–फरक तरिकाले नाच्ने तथा नचाइने गरेको पाइन्छ । नुवाकोट लाखेनाच आकर्षक ढंगले नाचिन्छ ।

सोही दिन मृत्यु भएकाका घर–घरबाट एक–एक गाइ, ख्याली अथवा जोगी निकालिन्छ । मृतात्मालाई शान्ति मिलोस्, स्वर्गमा बास होस् अर्थात उसले गरेका पापहरु नष्ट भइजाउन् भन्ने मान्यतासाथ गाइ निकालिने परम्परा रहिआएको छ । जात्राको अवसरमा ख्यालीहरु पनि निकाल्ने गरिन्छ । युवाहरु ख्याली बनेर समाजका कुरीति, कु–संस्कार तथा राज्यमा देखिएका बिकृति बिरुद्धमा ब्यंग गरी जनचेतना जगाउने कार्य गर्छन् । त्यस्तै भजन पनि निकालिने गरिएको छ । भजन नुवाकोटको प्राय स्थान घुमाइन्छ । जुन स्थान देबता हिँड्ने गरेको बाटो भन्ने जनविश्वास रहिआएको छ । भजनको तालमा लाखे एकदम आकर्षक र मनमोहक तरिकाले नाच्ने गर्छन् । धुनको लयमा नाचिने भएकोले जो पाए त्यहि व्यक्ति नाच्न सक्दैनन् । यो नाच बर्खायाममा सबै खेतबारीको काम (रोपाईँ) समापन भइसकेपछि फुर्सदको समय पारेर दुःख, व्यथा भुल्नलाई मनाइएको भन्ने विश्वास पनि रहिआएको छ । यो नाच हेर्न जिल्लाका विभिन्न क्षेत्रका बासिन्दा, छिमेकी जिल्लाका साथै विदेशीसमेत आउँछन् । यस जात्राको बीचमा टाकटुके जात्रा, सिपाही जात्रा, बिबाह जात्रा, रोपाईँ जात्रा मनाइन्छ । गाइ जात्राको भोलिपल्ट सिपाही जात्रा (सरकारी जात्रा) मनाइने गरिन्थ्यो । हाल यो जात्रा लोप हुने अबस्थामा रहेको छ ।

लाखे जात्रा कृष्ण जन्माष्टमीको दिनसम्म नचाएपछि कृष्ण जन्मिन्छन् । त्यसपछि लाखे मर्छ । कृष्ण जन्माष्टमीको दिनभन्दा केही दिन अगाडि सबै समुदाय मिलेर नाट्यश्वरी मन्दिरमा धुमधामसाथ कालो बोका बली दिएर पूजा गर्ने परम्परा छ । पूजा सकिएपछि नेवार तथा खस समुदायका केही व्यक्तिले ‘सी’ खाने परम्परा छ । (सीको अर्थ खुलाउने) ‘सी’ खाइसकेपछि ती व्यक्तिहरुमा नाट्यश्वरी चढेर उनीहरु काँप्न थाल्छन् । त्यस्तो बेला उनीहरुलाई समात्न हम्मे–हम्मे पर्छ । ५–६ जनाले समातेर उनीहरुलाई लाखेको जामा, चोलो, मुकुट र घाँगर लगाइ दिएर केही समय नचाइ दिएपछि कमाइ क्रमशः आफैँ हटेर जान्छ । यो क्रम केही समय चलिरहन्छ । कोही ‘सी’ खाएर काम्ने गर्छन् भने कोहीलाई सामान्य कम्प चढ्दै जान्छ ।

यो नाच हेर्न स्थानीय समुदाय तथा बिदेशीको ठूलै भिड लाग्छ । यो नाचले मनोरञ्जन दिनुका साथै केही डरसमेत सिर्जना गर्छ । यहाँका सबै समुदायका मानिसहरुले लाखे नाचलाई साझा पर्वका रुपमा लिँदै आएका छन् । मौलिक र सामाजिक एकताको रुपमा यो पर्वलाई लिइन्छ । जसले गर्दा सबै समुदायको सहभागिताले लाखे नाचलाई केही हदसम्म संरक्षण गरेको नुवाकोट सम्पदा गाँउका अध्यक्ष पुष्कर शर्मारिमाल तर्क गर्छन् । कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र उनको मृत्युको कामना गर्दै राक्षसको रुपमा सजिएर नेवार समुदायमा लाखेनाच नचाउने गरिन्छ । यो नाच नेवार समुदायको संस्कृति हो । आजभाेिल यो नाच परम्परागत समय र सीमा भित्र सीमित छैन । यो साँस्कृतिक नाच विभिन्न उत्सव र राष्ट्रिय स्तरका कार्यक्रमहरुमा प्रदर्शन गर्नसमेत थालिएको छ ।

नेपाल कला, संस्कृतिमा धनी छ । संस्कृति आफ्ना पूर्खाहरुले अंगिकार गर्दै आएको भाषा, धर्म, रीतिरिवाजसँग सम्बन्धित रहँदै आएको छ । आफ्नो संस्कृतिप्रतिको आदर, सम्मान, माया हरेक व्यक्तिमा रहने गर्दछ । यो कुनै नौलो कुरा होइन । विभिन्न क्षेत्रमा प्रचलित नाच र जात्राहरुको बिषयमा केही न केही जानकारी स्थानीय स्तरमा रहेको हुन्छ । ती जात्राहरुको संरक्षण, सम्र्बद्धनमा जोड नदिने हो भने लोप भएर जाने खतरा बढ्छ । लाखेनाचको संरक्षण गर्नसके संस्कृतिको रक्षा गर्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने थियो । यस्ता जात्राहरुको संरक्षणमा स्थानीय समुदाय तथा सरोकारवालाको पनि ध्यान जानु जरुरी देखिन्छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology