दरबार हत्याकाण्डबारे बाबुराम भट्टराईको त्यो बहुचर्चित लेख : ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं’

२०५८ जेठ १९ गते नेपाली इतिहासमा अर्को एउटा ‘कोतपर्व’ घट्यो । राजा वीरेन्द्रसहित राजपरिवारका प्रायः सबै सदस्यहरूको हत्या गरिएको त्यस त्रासदीपूर्ण घटनाबारे सत्य –तथ्य अझै जनसमक्ष प्राप्त हुन नसक्दा यतिबेला सर्वत्र अड्कलबाजी र शंका –उपशंकाको बजार गरम हुनु स्वाभाविक छ ।

‘पाप धुरीबाट कराउँछ’ भनेझैं त्यस घटनाबारे वास्तविक सत्य एक दिन अवश्य उद्घाटित हुनेछ । तर, यतिबेला सरकारी सूत्रहरू र तिनका विदेशी मालिकहरूबाट जुन कुराहरू प्रचारमा ल्याइएको छ, त्यसलाई पत्याउन नेपाली जनता पटक्कै तयार छैनन् ।

खासगरी जुन ढंगले ‘प्रेम प्रसङ्ग’ र ‘दुर्घटना’ को प्रायोजित सिद्धान्त प्रचारमा ल्याएर त्यसभित्रको गम्भीर राजनीतिक षडयन्त्रलाई ढाकछोप गर्ने प्रयास सत्तापक्षबाट भइरहेछ, त्यसले नै शङ्काको सुई उनीहरूतिरै फर्काइरहेको छ र नेपाली जनताको सत्य –तथ्य बुझ्ने अधिकारलाई अरु बल पुर्याकइरहेको । त्यसैले घटनाबारे सम्पूर्ण तथ्य जनसमक्ष ल्याउन र नयाँ ‘कोतपर्व’ का खलनायकहरूलाई बेनकाव गर्न यतिवेला सम्पूर्ण देशभक्त र जनवादी शक्तिहरूले एकीकृत प्रयास गर्नु इतिहासको माग भएको छ ।

प्रतिक्रियावादी विश्व दृष्टिकोणले कुनै ऐतिहासिक घटनालाई एउटा फगत आकस्मिकताको रुपमा मात्र प्रस्तुत गर्न खोज्छ र घटनाको प्रमुख कारक तत्व अमूक व्यक्तिलाई बनाउन खोज्छ, साथै त्यसले घटना प्रक्रियाको अन्तर्वस्तुलाई लुकाएर त्यसको बाहिर सतहमा देखिने रुप पक्षमा मात्र एकपक्षीय जोड दिन्छ ।

त्यसरी हेर्दा नारायणहिटीभित्र घटेको नयाँ ‘कोतपर्व’ मा कुनै व्यक्ति विशेषको प्रेम प्रसङ्गले निर्णायक भूमिका खेलेको जस्तो देखिन सक्छ, जसलाई सुरुमा सरकारी सञ्चार माध्यमले र मूख्यतः उनीहरूका विदेशी मालिकहरूका सञ्चार माध्यमले निकै जोडतोडका साथ प्रचार गरेको पाइयो । पछि फेरि बडो नाटकीय ढङ्गले स्वचालित बन्दुक आफैं पड्केर मुख्य व्यक्तिहरूलाई छानी –छानी मारेको अत्यन्त हास्यास्पद कुतर्क सो काण्डका खलनायकहरूबाटै अघि सारेको पाइयो ।

जसमा सायद सो काण्डमा बाँचेका अन्य शाही परिवारका सदस्यहरूको चश्मदीद गवाही (प्रत्यक्षदर्शी) को डरले काम गरेको हुन सक्छ । निश्चित रुपमा इतिहासका कतिपय घटनाहरू फगत संयोगको रुपमा घट्छन् र कुनै व्यक्ति विशेषको अचेतन सनकले पनि निर्णायक भूमिका खेल्न सक्छ ।

तर, त्यस्तो अपवाद स्वरुप घट्ने घटनाको पनि एउटा पत्यारलाग्दो शृङ्खला हुन्छ, जुन वर्तमान घटनामा देख्न सकिँदैन । एउटा भावी राजाले प्रेममा पागल भएर गद्दी त्याग गर्न सक्छ तर त्यत्तिकै निम्ति आफ्ना पूरै शाखा सन्तान र स्वयं आफूलाई भौतिक रुपले समाप्त गर्न सक्दैन ।

झन् एउटा स्वचालित बन्दुक आफसेआफ कुनै अति सुरक्षित कोठाभित्र पसेर देशको राष्ट्राध्यक्ष लगायत एउटा परिवारका सबैलाई छानी –छानी मार्ने र अर्को परिवारका सबैलाई चोखै छोड्ने काम गर्न सक्छ भन्नु एउटा सामान्य सास फेर्ने प्राणीको सहजबुद्धिकोसमेत अपहेलना गर्नु हो, विज्ञान र तर्कको त कुरै छाडौं ।

संसारमा विभिन्न प्रकारका यन्त्रमानवको आविष्कार भएको सुनिन्छ, तर यति सचेत र अचुक यन्त्रमानवको आविष्कार यदि कसैले गरेको हो भने उसलाई नारायणहिटीको गद्दी मात्र होइन दिल्ली दरवार र ह्वाइट हाउसकै गद्दी सुम्पनु पर्ने हो कि ?

प्रतिक्रियावादी विश्वदृष्टिकोणको विपरित प्रगतिवादी द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणले कुनैपनि घटनालाई जीवन र जगतका निरन्तर गतिमा रहेको वस्तुगत प्रक्रियाको अभिव्यक्तिको रुपमा बुझ्दछ र त्यो ऐतिहासिक आवश्यकता र आकस्मिकताको द्वन्द्वात्मक मेलका रुपमा प्रकट हुने मान्दछ ।

त्यसरी हेर्दा कुनै ऐतिहासिक घटनामा त्यसभित्र अन्तर्निहित पक्षको निर्णायक र प्रधान भूमिका हुने तर बाहिर देखिने पात्रहरू निमित्त पात्र मात्र हुने वा एउटा आकस्मिकताको रुपमा मात्र प्रकट हुने कुरा बुझ्न सकिन्छ । त्यसैले नारायणहिटी दरवारभित्र घटेको यो नयाँ कोतपर्व देशमा तीव्र गतिले बदलिँदो राजनीतिक र वर्गीय शक्ति सन्तुलनको अभिव्यक्तिको रुपमा हेर्नु र बुझ्नु अनिवार्य हुन्छ ।

पृथ्वीनारायण शाहको नेतृत्वमा सवा दुई सय वर्ष पहिले स्थापित नेपालको केन्द्रीय राज्यसत्ता सुगौली सन्धीदेखि २००७ साल र २०४६ साल हुँदै २०५८ सालसम्म आइपुग्दा जुन प्रकारले तीव्र सङ्कटमा परेको थियो, त्यसैलाई उही पुरानै स्वरुपको वर्गीय नेतृत्व अन्तर्गत टिकाइ राख्नु सम्भव थिएन र छैन ।

फेरि नेपालको विशिष्ट भू –राजनीतिक सन्दर्भ र विश्व तथा दक्षिण एशियामा तीव्र रुपले परिवर्तित हुँदै गइरहेको शक्ति सन्तुलनको हेरफेरको स्थितिमा नेपालको राष्ट्रिय एकता र सार्वभौमिकताको संरक्षण पुरानो रुपमा भइरहनु अत्यन्त कठिन बन्दै गइरहेको थियो र छ ।

यहाँनेर विशेष रुपले स्मरणयोग्य के छ भने सुगौली –सन्धी पश्चात नेपालको केन्द्रीय राज्यसत्तामा पहिले ब्रिटिश भारतीय उपनिवेशवाद र पछि भारतीय विस्तारवादी शक्तिको झण्डै निर्णायक प्रकृतिको पकड रहने गरेको छ । त्यसैले देशभक्त भिमसेन थापाको हत्या र त्यसपछिको कोतपर्वमा ‘अंग्रेजको कुकुर’ (शब्द साभारः कार्लमाक्र्स) जङ्ग बहादुर राणाको उदयदेखि पछि प्रायः सबै सत्ता परिवर्तनहरूमा साम्राज्यवादी र विस्तारवादीहरूको प्रत्यक्ष हात रहने गरेको कुराको साक्षी नेपाली इतिहास छ ।

नारायणहिटीमा घटेको यो पछिल्लो ‘कोतपर्व’ पनि त्यसैको एउटा कडी मात्र भएको कुरा बुझ्न नेपाली देशभक्तहरूलाई कुनै कठिनाई हुँदैन ।

आखिर यतिवेला नै राजा वीरेन्द्र र उनको सम्पूर्ण परिवारको हत्या किन गरियो त ? साम्राज्यवादीहरू र विस्तारवादीहरूको नजरमा उनको मूख्य अपराध के थियो त ?

जुनसुकै विचारधारा अङ्गाल्ने भएपनि सबै देशभक्त र इमान्दार नेपालीहरूले के कुरा निर्धक्क स्वीकार्नु पर्छ भने सामन्ती वर्गमा पैदा भएपनि राजा वीरेन्द्रको सापेक्ष देशभक्तिको भावना र उदार राजनीतिक चरित्र नै साम्राज्यवादी र विस्तारवादीहरूको आँखामा उनको सबैभन्दा ठूलो ‘कमजोरी’ वा ‘अपराध’ थियो ।

२०४६ को एकतर्फी भारतीय आर्थिक नाकावन्दी र त्यसपछिको जनआन्दोलनको बेला उनले विस्तारवादीहरूको सामुन्ने झुक्नु भन्दा आफ्नै जनताको सामु झुक्ने जुन प्रतिवद्धता देखाए, त्यो विस्तारवादीहरूलाई पट्टक्कै मनपरिरहेको थिएन ।

पछिल्लो चरणमा खासगरी नेकपा (माओवादी) को नेतृत्वमा युगान्तकारी जनयुद्धको थालनी भएपश्चात् त्यसको विरुद्धमा आफूप्रति परम्परागत रुपमा वफादार रहेको साही सेनालाई परिचालन गर्न उनले जुन आनाकानी गरे साम्राज्यवादी र विस्तारवादीहरूका निमित्त त्यो उनको सबैभन्दा ठूलो ‘अपराध’ ठहरियो ।

कतिपय मार्क्सवादी पण्डाहरूसमेतले यसै आधारमा हामीलाई राजावादी भनेपनि अब हामी निर्धक्क साथ के भन्न सक्छौ भने कतिपय राष्ट्रिय प्रश्नहरुमा राजा वीरेन्द्र र हाम्राबीचमा समान सोंचाइहरू थिए र त्यसले कतिपय प्रसङ्गहरुमा हामीलाई अघोषित कार्यगत एकता गराइरहेको थियो । यो कुराबाट विस्तारवादीहरू र तिनीहरूका दलालहरू त्रसित हुनु विल्कुल स्वाभाविक थियो ।

केही समय यता अमेरिका र चीनबीच बढ्दै गएको अन्तरविरोध र अमेरिका र भारतबीच बढ्दै गएको साँठगाँठको पृष्ठभूमिमा चीन र हामी माओवादीहरूसँग ‘नरम’ देखिने राजा वीरेन्द्र अमेरिकी साम्राज्यवादीहरू र मुख्यतः भारतीय विस्तारवादीहरूको आँखाको कसिङ्गर बन्नु झन स्वाभाविक भयो ।

भारतीय विस्तारवादको नीति नेपाललाई सिधैं ‘सिक्किम’ बनाउनुको सट्टा पहिले ‘भुटान’ बनाएर पछि ‘सिक्किम’ बनाउने नयाँ ग्राण्ड डिजाइनमा बदलियो । सिआईए (दिल्लीमा शाखा खोलिएको एफबिआई मार्फत्) को सहमतिमा ‘र’ ले यस सम्बन्धी रणनीतिको तर्जुमा गर्यो ।

दन्त्य कथाको छट्टु स्यालले ‘चील आएको’ हल्ला गरेर कुखुरा चोर्ने गरेझै आईएसआईको हौवा खडा गरेर ‘र’ ले दरवारभित्र समेत आफ्नो पहुँच बनायो र ‘भुटानीकरण’ को निमित्त नयाँ ‘जिग्मे सिंघे’ मार्फत् दरावारभित्रैबाट यो ‘कोतपर्व’ को मञ्चन गरियो । पहिले नै गिरिजाको रुपमा ‘लेण्डुप दोर्जे’ पाइसकेको ‘र’ ले अब ‘जिग्मे सिंघे’ र ‘लेण्डुप दोर्जे’ को नयाँ गठबन्धन नेपालमा गराएर ‘भुटानीकरण’ हुँदै ‘सिक्किमीकरण’ गर्ने बृहत् रणनीति कार्यान्वयन गरेको कुरामा अब कसैलाई कुनै शङ्का नभए हुन्छ ।

यो स्थितिमा देशभक्त नेपालीहरूको नयाँ दायित्व के हुनु पर्ला त ? हाम्रो पार्टीका अध्यक्ष क. प्रचण्डले जारी गर्नुभएको प्रेस वक्तव्यले सम्पूर्ण देशभक्त नेपालीहरूलाई नयाँ ढङ्गले सोच्न र नयाँ आधारमा नयाँ एकता कायम गरेर अघि बढ्न आह्वान गरीसकेको छ ।

त्यसलाई गम्भीरतापूर्वक लिन जोड दिंदै हामी सबै देशभक्त, जनवादी र वामपन्थी शक्तिहरूसँग के विनम्र आग्रह गर्दछौँ भने घटनाक्रम जुन तीव्रताका साथ अघि बढिरहेको छ, त्यही तीव्रतामा हामीले हाम्रा सोच र गतिविधिलाई पनि उँचाइमा उठाउन जरुरी छ ।

आजको यो ऐतिहासिक मोडमा हामीले अलिकति पनि गल्ती गर्यौंो भने त्यसले देश र जनताको निमित्त भयङ्कर दुष्परिणम ल्याउन सक्छ भने हाम्रो एउटा वुद्धिमतापूर्ण कदमले नेपाल र नेपालीलाई एक्काइसौं शताब्दीमा गर्व गर्न लायक स्थानमा पुर्यालउनेछ ।

त्यसैले सर्वप्रथम हामीले यो नयाँ ‘कोतपर्व’ को पछाडिको ‘ग्रायण्ड डिजाइन’ र तिनका सूत्रधारहरूलाई राम्ररी चिनेर जनसमक्ष नाङ्गेझार पार्नुपर्छ र अब अर्को ‘कोतपर्व’ लाई वैधानिकता दिन दृढतापूर्वक अस्वीकार गर्नु पर्छ ।

किनकि यो सन् २००१ साल हो, १८४६ साल होइन, यसबीचमा कोशी, गण्डकी र कर्णालीमा धेरै पानी बगेको मात्र होइन थुप्रै रगत पनि बगिसकेको छ । हाम्रा विभिन्न मतभिन्नताका वावजुद शाहवंशीय राजाहरू (पृथ्वीनारायण शाहदेखि राजा वीरेन्द्रसम्म) को मूख्य योगदान भनेको पहिले अंग्रेज उपनिवेशवादीहरू र पछि भारतीय विस्तारवादीहरू विरुद्ध संघर्ष गरेर नेपाली सार्वभौमिकता र स्वतन्त्रताको रक्षामा योगदान दिनु हो । तर अब यदि कुनै ‘शाह’ ले विस्तारवादीहरूको आड लिएर नयाँ ‘कोतपर्व’ मार्फत् अर्को ‘राणावंश’ को थालनी गर्ने दुःस्वप्न देख्छ भने त्यसलाई नेपाली जनताले मान्यता दिने प्रश्नै उठ्दैन ।

पृथ्वीनारायण शाहदेखि वीरेन्द्रसम्मका राजाहरूले गरेको देशभक्तिपूर्ण कामको नेपाली जनताले युग –युगसम्म उच्च मुल्याङ्कन गर्ने छन् । तर ‘कोतपर्व’ बाट आएको ‘जिग्मे सिंघे’ लाई कुनै पनि हालतमा स्वीकार्ने छैनन् ।

यसै सन्र्दभमा ‘देश र नरेश’ को सेवामा समर्पित शाही सेनाका अफिसर र जवानहरूले अब ‘नरेश’ को रक्षा गर्न नसके पनि ‘देश’ को रक्षामा नयाँ ढङ्गले लाग्नु पर्छ र उनीहरूले दरवारभित्र जन्मेको विस्तारवादको कठपुतलीलाई होइन झोपडीमा जन्मेका नेपाल आमाका देशभक्त सपुतहरूलाई साथ दिनुपर्छ भन्ने हाम्रो हार्दिक आग्रह छ । देश गम्भीर स्थितिमा छ, त्यसैले देशभक्तहरूको एकता यतिबेला सर्वाधिक महत्वपूर्ण छ ।

(तत्कालिन विद्रोही माओवादी नेता भट्टराईले दरवार हत्याकाण्डबारे कान्तिपुर दैनिकमा लेखेको चर्चित लेख ।
साभारः बावुराम भट्टराई डटकम)