नुवाकोटको खेलकुद, अनुभव र अनुभूति: ‘गोल्की कस्तो, चुम्बक जस्तो’

                  अनुजकुमार श्रेष्ठ

२०४२ सालमा म कक्षा पाँच मा च्वाडी स्कूलमा पढ्थे, त्यस बेला नुवाकोट जिल्ला भरी भलिवल खेलिन्थ्यो र फुटवल पनि त्यत्तिकै खेलिन्थ्यो । विशेष गरी सानो मैदान भए पनि पुग्ने कारण फुटवल भन्दा भलीबल ज्यादा खेलिन्थ्यो । क्रिकेटको सुरुवात धेरै पछि मात्र भएको हो । त्यस समयमा स्कूल स्तरिय खेलहरु धेरै हुन गथ्र्यो । विरेन्द्र शिल्ड जित्न कै लागि स्कूलहरुले खेल्न सक्ने गतिला विद्यार्थीहरु छानी छानी भर्ना गर्थे । दौंड लगायत एथलेटिक्सका सवै विधाका खेलहरु हुन्थे । मार्सलआर्टमा कराँते र तेक्वान्दो चर्चित थियो । बजारको बिस्तार खासै नभईसकेकोले खालि जग्गाहरुमा भलिबल खेल्थ्यौं भने बाँझो खेतबारीमा फुटवल खेल्थ्यौं । विशेषत बट्टार बजारमा माथिल्लो बजार (संगम चोक, सिचाई जाने दोबाटोदेखि विकास केन्द्र अहिलेको नुवाकोट क्याम्पस सम्म) हाल संजीवनी क्लिनिक भएको ठाउँमा पूरै खाली जग्गामा भलिबल कोर्ट बनाएका थियौं ।  पछि क्लव भवनमा पनि खेल्यौं । त्यसै गरी यूनाइटेड प्रा.विको खाली जग्गामा पनि खेल्यौं र पछि क्याम्पसको पुस्तकालयको पछाडी पनि खेल्यौं । ठूलाहरु भने क्याम्पसको अर्को कोर्टमा खेल्थे । फुटवल भने अहिलेको नयाँ बसपार्क जानेतर्फको खुल्ला बाँझो खेत (गोपालमान श्रेष्ठको)मा खेल्ने गथ्यौं । जेहोस, त्यस वेला भलिवलमा निकै उत्साह थियो । मसँग एउटा मिकासा जापानिज भलिवल थियो (रसुवाको राम्चेमा हुँदा विदेशी पर्यटकले खेल्न दिए जस्तो लाग्छ) त्यो भलिवल करिव २–३ वर्ष सम्म खेलियो होला । त्यस समयको हाम्रो नेतृत्व बट्टारका देवनारायण चित्रकारले गर्थे, उनि काठमाडौंबाट बोइजको तालिम लिएर आएकाले जेम्यास्टिक गरेर सबैलाई चकित पार्थे ।

२०४६ सालको जन आन्दोलन पछि भलिवलका जिल्लास्थरिय धेरै प्रतियोगिताहरु भए । मलाई याद भएसम्म गेर्खुटार युवा क्लवको आयोजनामा प्रकाश काफ्ले स्मृति (मानव अधिकार कर्मी) भलिवल प्रतियोगिता, ज्योति युवा क्लव कोलोनीले राजु नेपाली स्मृति (क्लवका स्वर्गीय खेलाडी) भलिवल प्रतियोगिता आयोजना गरेको याद छ । उक्त प्रतियोगिताहरुमा नेपाली सेना मैथली तालिम केन्द्रका तत्कालिन प्रमुख अनन्त थेवेको सक्रियता स्मरणिय छ । नुवाकोट, वेत्रावती, कोलनी र तुप्चे युवा क्लव भलिवलका चर्चित एवं बलियो क्लबका रुपमा चिनिन्थे । बट्टारका युनाइटेड युथ क्लवबाट दुई टिम सहभागिता भएको प्रतियोगितामा म स्वयम टिम बि बाट सहभागी थिएँ । कोलनीका गणेश श्रेष्ठ, बगुवाका गणेश कुमार श्रेष्ठ, तुप्चेका विष्णु तामाङ (सुर्य) नुवाकोटका रञ्जित थापा, ईश्वरमान सिं डंगोल, सुमन बाबु श्रेष्ठ, श्रीराम सापकोटा, बट्टारका प्रेमध्वज महत, गोविन्द प्रधान, संजिव श्रेष्ठ, वेत्रावतीका ईश्वर श्रेष्ठ, राजकुमार डंगोल चर्चित भलिवल खेलाडीहरु हुन् । एक जमाना यस्तो थियो भलिवल प्रतियोगिता हेर्नकै लागि ४–५ घण्टा हिडेर गाउँ–गाउँदेखि दर्शकहरु आउने गर्थे । जिल्लामा यस्ता प्रतियोगिताहरु आयोजना गर्नमा गेर्खुटार युवा क्लव र त्यस क्लवका तत्कालिन अध्यक्ष रामशरण प्याकुरेलको योगदान उल्लेखनिय रहेको छ ।

भलिबलमा उत्कृष्टता हासिल गरेका क्लवहरु फुटवलमा भने केही कमजोर देखिन्थे । नुवाकोटमा फुटवलको छुट्टै रौनक थियो । सन् १९८८ को विशव कप पश्चात फुटवलको रौनक बढेको हो । धेरै जसो घरमा टेलिभिजनको पहुच नभएकाले सबैजना एकै ठाउँमा जम्मा भएर विश्वकप हेर्ने गरिन्थ्यो । तल्लो बजारमा जीवनलाल श्रेष्ठको घरमा बसेर अर्जेन्टिनाको गेम हेरेको मलाई अझै याद छ । नुवाकोटमा फुटवलको पनि धेरै प्रतियोगिताहरु संचालन हुन्थ्यो । त्रिशुली स्कूलको खेल मैदानमा फुटवलका प्रतियोगिताहरु हुने गथ्र्यो । गेर्खुटार युवा क्लवले आयोजना गरेको रुपक स्मृति (मानव अधिकारकर्मी) जिल्ला स्तरिय फुटवल प्रतियोगिताले त्यस वेला जिल्ला भरी फुटवलको रौनक छाएको थियो । फुटवलमा न्यू स्टार क्लव त्रिशुली, युनाइटेड युथ क्लव बट्टार कहलिएका क्लवहरु हुन् । त्रिशुलीका बलराम, राजाराम, बुद्धिलाल नगरकोटी, बट्टारका सेवकराम, राम प्रसाद श्रेष्ठ (ठाइला), श्रीराम श्रेष्ठ (काइला), ध्रुर्व अमात्य, शान्तिराम गिरी, कुमारलाल श्रेष्ठ, देवनारायण चित्रकार र शिवलाल श्रेष्ठ कहलिएका फुटवल खेलाडीहरु हुन् । देवनारायण चित्रकार नुवाकोट फुटवल जगतकै उत्कृष्ट गोल्की (गोल किपर) हुन् । हामी देवनारायणको लागि नारा नै लगाउथ्यौं, “गोल्की कस्तो, चुम्बक जस्तो” ।

नुवाकोटमा तुलनात्मक रुपमा २०४५ देखि २०५५ को दशक खेलकुदको विकासको उत्कृष्ट दशक हो । यही दशकमा धेरै खेलकुद गतिविधिहरु भएका छन् । माओवादी जनयुद्ध, राजनैतिक अस्थिरता, जनप्रतिनिधि विहिन स्थानिय निकायको कारण पछिल्लो दशक (२०५५ देखि २०६५) मा खासै महत्वपूर्ण खेल गतिविधिहरु भएको देखिंदैन । तर यही दशकमा क्रिकेटको विकास भएको देखिन्छ । नुवाकोटमा क्रिकेट खेल सुरुवात गराउने मुख्य श्रेय सडक विभागका ओभरसियर लाल सिं ऐरी, बट्टार क्याम्पसका प्राध्यापकद्वय डा. सुवोधकुमार झा र रबि भुषण सिंलाई जान्छ । वहाँहरुले खेल्न सिकाएका मात्र हैनन् क्रिकेटका खेल सामग्रीहरु समेत उपलब्ध गराएका थिए । २०६३ सालमा नुवाकोट क्रिकेट संघ स्थापना पश्चात क्रिकेटको चर्चा परिचर्चा सुरु भएको हो र खेल प्रतियोगिता पनि हुन थालेको देखिन्छ । स्कूल कलेज स्तरबाट सुरुभएको क्रिकेट खेल जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तर सम्म पु¥याउन सफल भएका छन् । नुवाकोटका क्रिकेट खेलका चर्चित खेलाडीहरु राजु क्षेत्री, जोनी जे.के., केशव मिश्र, दुर्गाराज पाठक, अजय जापा, विष्णु भुषण चित्रकार, बिराट मान सिं डङोल्, राजेश रिमाल्, दीपेन्द्र प्यकुरेल्, दिपक चित्रकार् र राजेश श्रेष्ठ हुन् । राजेश श्रेष्ठ राष्ट्रिय खेलमा समेत सहभागी खेलाडी हुन् । केशव मिश्रको नेतृत्वमा स्थापित नुवाकोट क्रिकेट संघको नेतृत्वमा अहिले दुर्गाराज पाठक छन् । खेल मैदानकै अभावमा नुवाकोट क्रिकेट संघ आजसम्म रुमल्लीरहेको देखिन्छ । क्रिकेटका प्रतियोगिताहरु संचालन गर्न धेरै प्रयत्न भएका छन् । तर खेल मैदान कै अभावले सफल हुन नसकेको गुनासो क्रिकेटसँग सम्बन्धित खेलाडीहरुले गर्छन । बट्टारमा भएको खेल मैदान साँगुरो र देवीघाट प्रोजेक्टमा रहेको खेल मैदानमा सोलार प्लान्ट जडान गर्ने भएपछि खेल मैदानका लागि नयाँ ठाउँ खोज्नु पर्ने देखिन्छ । त्यसको निम्ति स्थानिय सरकारको वेलैमा ध्यान जानु जरुरी छ । टेवल टेनिस, ब्याडमिन्टन लगायत धेरै खेलहरुको विकास भएको तर निरन्तरता नहुँदा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन हुन नसकेको हो । तेक्वान्दोका राष्ट्रिय खेलाडी हुँदै एसियन गेम विजयता ओलम्पियन संगिना बैद्य हाल राष्ट्रिय प्रशिक्षक समेत छन्, जसले नुवाकोटको मात्र हैन देशकै नाम अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सफल भएकी छिन । यसरी एथलेटिक्स एवं मार्शलआर्टमा नुवाकोटको छुट्टै पहिचान छ ।

आज नुवाकोट जिल्ला खेलमय भएको छ । बट्टार बजारको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा संचालित प्रथम नुवाकोट गोल्ड कपले नुवाकोटको पहिचान नै बदलिएको छ । मेहिनत गरे के असम्भव छ र ? केवल ४० दिनको अथक प्रयासले नुवाकोटमा अन्तर्राष्ट्रिय स्तरको फुटवल मैदान निर्माण भएको छ । हाललाई अस्थायी नै भए पनि प्याराफिट निर्माण गरी दर्शकलाई सुविधा दिने कोशिस सकारात्मक छ । खेल हेर्न दर्शक उर्लिएको छ, यसले नुवाकोटको जनता खेलप्रति कति उत्साहित छन् भन्ने प्रमाणित गरेको छ । पहिलो पटक टिकट काटेर सःशुल्क खेल हेर्न मैदान प्रवेश गरेका नुवाकोटे जनताका भिडले स्थानीय जनसमुदायको खेल मनोविज्ञान समेत उजागार भएको छ । नुवाकोट गोल्ड कपलाई यो अवस्थासम्म ल्याई पु¥याउन जिल्ला खेलकुद समिति, जिल्ला फुटवल संघ, अखिल नेपाल फुटवल संघ र यसका पदाधिकारीहरु बुद्धि प्रधान, उद्धव पनेरु, देवनारायण चित्रकार, नविन्द्रमान श्रेष्ठ, पूर्णमान चित्रकार र दिपकलाल चित्रकार लगायतको विशेष योगदान रहेको देखिन्छ । वहाँहरुको निरन्तर प्रयासबाट नै यो सफलता सम्भव भएको हो ।

स्तरिय मैदान निर्माण गर्न श्रीनाथ गण, सैन्य तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय, अखिल नेपाल फुटवल संघ, नगर प्रहरीका जवानहरु लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको दिन रातको खटाई प्रशंसनिय छ । विशेष गरी श्रीनाथ गणका सहसेनानी विद्युत कुमार बस्नेतको योगदान स्मरणीय छ । राष्ट्रिय स्तरका खेलाडीहरु र क्लव एवं समूहहरु सहभागी भई सम्पन्न हुँदै गरेको नुवाकोट गोल्ड कपले जिल्ला कै खेल जगतको सम्भावनालाई उजागर तुल्याएको छ ।
देशको राजधानीसँग जोडिएर पनि विकास निर्माणको दृष्टीले पछि परेको नुवाकोट जिल्ला देशकै पूरानो ऐतिहासिक राजधानी समेत हो । धार्मिक, पर्यटकिय एवं कृषि उत्पादन र जल उर्जाको हिसावले अत्यन्तै महत्वपूर्ण रहेको नुवाकोटलाई खेल पर्यटनको दृष्टिले समेत विकास गर्न सकिने बारे बहसको सुरुवात भएको छ । उपत्यका बाहिर अन्तर्राष्ट्रिय खेलहरु संचालन गर्नको लागि सबै भन्दा नजिकको खेल मैदान नुवाकोटको खेल मैदान हुन सक्छ । त्रिदेशीय मार्गले समेत अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरु संचालन गर्न सम्भव देखिन्छ । जे होस् प्रथम नुवाकोट गोल्ड कपले समग्र नुवाकोटको पहिचान गराएको छ । राष्ट्रिय स्तरमा नुवाकोटको चर्चा परिचर्चा भएको छ । यसलाई निरन्तरता दिन सके नुवाकोटको मात्र हैन देशकै खेल जगतले फड्को मार्ने निश्चित छ । अव नुवाकोटमा फुटवल, भलिवल, क्रिकेट र मार्शलआर्ट लगायत अन्य खेलहरुलाई समेत समान रुपमा प्राथमिकता दिई विकास गर्नु पर्ने र प्रतियोगिताहरु नियमित संचालन गर्नु पर्ने बारे सम्बन्धित निकाएहरुको ध्यान जानु जरुरी छ ।

(लेखकः साकुरा नेपाल कन्सल्टेन्सीका प्रवन्ध निर्देशक हुनुहन्छ । प्रस्तुत भावनाहरु व्यक्तिगत हो ।)