बिहिबार, अशोज २, २०७६
कांग्रेसको एक महिने जागरण र नुवाकोटको तिक्तता -

कांग्रेसको एक महिने जागरण र नुवाकोटको तिक्तता



रिना खनाल –

गए साता नेपाली कांग्रेसको एक महिने जागरण अभियानको समापन भयो । जागरण अभियान भनेको पार्टीपंक्ति जनतामा जाने, जनताका कुरा प्रत्यक्ष सुन्ने, तदनुरुप आफ्ना कार्यक्रम तय गर्ने र  प्राप्त सुझावबाट प्रेरणा लिएर संगठनलाई जनस्तरसम्म विस्तार गर्ने अवसर हो । जनस्तरसँग एकात्मता स्थापित नगरे पार्टी फैलिदैन । नेता र कार्यकर्तामा सीमित रहन्छ, जनतामाझ भिज्दैन । जनतामा नभिज्दा के हुन्छ, आजको कांग्रेसलाई यसको उदाहरण दिइरहनु पर्दैन ।

यो जागरण अभियान कति सार्थक भयो, यसको गम्भीर समीक्षा हुनुपर्छ । किनभने  कार्यक्रम जागरण अभियान भए पनि पार्टीका नेताहरु नै नजागेका हुन् कि भन्ने प्रतीत भयो धेरैलाई । जागरणको अर्थ हो सुतेकालाई उठाउनु र कर्मक्षेत्रमा लाग्न प्रेरित गर्नु । प्रश्न छ, नेताहरु नै यदि जागेका छैनन् भने कार्यकर्तालाई कसरी जगाउँछन् र नजागेका कार्यकर्ताले जनतालाई आफूतर्फ कसरी आकर्षित गर्छन्, गर्नसक्छन् ?

यहाँ जिज्ञासा उत्पन्न हुन्छ नै, नेता जाग्नु भनेको के हो ? नेता भनेको नीति, नीतिअनुसारको कार्यक्रम निर्माण गर्ने र नेतृत्व दिने, अरुले उनीहरुलाई पछ्याउने हो । यसर्थ नेतामा नीतिगत स्पष्टता नभए कार्यक्रमले चाहेको प्रतिफल दिन सक्दैन । तयसैले नेता जाग्नु भनेको सही अर्थमा नीतिगत स्पष्टता हो । के कांग्रेस नेताहरुमा आज नीतिगत स्पष्टता छ ? के सांगठनिक संरचना चुस्तदुरुस्त छ ? दुःखका साथ भन्नुपर्छ, यी दुबै नीति र संगठन जस्ता अत्यावश्यक तत्वबारे पार्टीमा विशद् विमर्श नै हुने गरेको छैन ।

सम्पन्न अभियान जनतालाई जागरुक बनाउने ध्येय लिएर गरिएको थियो निश्चय नै तर देखियो के भने कार्यक्रम जनसम्पर्कमा पुग्नुभन्दा पनि कार्यकर्ताको नेताप्रति गुनासोमा सीमित भयो । यस परिदृश्यलाई नेताहरुले पक्कै अनुभव गरेका हुनुपर्छ । जनस्तरको सम्पर्कमा जाँदा चुस्तदुरुस्त संगठन भएन भने के हुन्छ, यो पनि उनीहरुले पक्कै महसुस गरेका हुनुपर्छ ।

जहिल्यै नेतागणको भाषण सुन्ने, सुन्नुपर्ने कार्यकर्ता यसपालि नेतासामु खुलेर प्रस्तुत भए । कार्यकर्ताको खुला प्रस्तुतिले नेताहरु अलि चकित हुनु स्वाभाविक हो । तर चकित नहुनु किनभने कार्यकर्ता खुलेर प्रस्तुत हुनुलाई पार्टी जीवनमा आन्तरिक लोकतन्त्रको अभ्यास सशक्त हुने लक्षणका रुपमा लिनुपर्छ र यसलाई स्वागत गर्नुपर्छ ।

यसपालि जागरण अभियान समापनपछि विभिन्न विभिन्न अवसरमा कम्युनिष्टहरु खत्तम हुन् भन्ने जस्ता वाक्य सुन्न भने पाइएन । सबैले बोल्न पनि पाएनन् तथापि कार्यक्रमहरु आन्तरिक मन्थनमा बढी केन्द्रित थिए भन्न सकिन्छ । यसकारण सधैंजस्तो नेताहरु सरकार विरोधी टिकाटिप्पणीमा सीमित हुन पाएनन् । उनीहरुले पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा कार्यकर्ताहरुबाट आफ्नो ध्यानआकर्षित गरिएको पक्कै महसुस गरे ।

कार्यकर्ताहरुका प्रश्न जायज थिए किनभने संगठन नै छरपस्ट छ, पहिला त समेट्नु प¥यो । तब बल्ल सुदृढीकरण गर्ने कुरा आउँछ । देश संघीयतामा गएको छ तर पार्टी संगठन तदनुरुप गठन गरिएको छैन । गाउँमा रिक्तता छ । नगरमा रिक्तता छ । प्रदेशमा रिक्तता छ । यस अवस्थामा केन्द्र कसरी बलियो हुनसक्छ ? जहाँ आधारै कमजोर छ त्यहाँ माथिल्लो निकाय बलियो हुने कामना गर्न पक्कै मिल्दैन । पार्टी बलियो हुनलाई जगैदेखि बलियो हुनुपर्छ ।

यसपालि निश्चय नै ठूलो संख्यामा नेताहरुको जमघट भएकोले कार्यकर्ता लगायत समर्थक, शुभेच्छुकहरुले पनि गुनासो पोख्ने अवसर पाए । पार्टीका नेताहरुलाई मुहान बाटै सच्चिन आग्रह समेत गर्न पाए । नेताहरुलाई ऐक्यबद्ध रहेर कार्यसम्पादन गर्न र प्रस्तुत हुन कार्यकर्ताहरुले प्रशस्त सुझाव दिएका छन् । तीनै तहका निर्वाचनमा पार्टीको दुरवस्था सम्झन सुझाएका छन् ।

अब अन्त्यमा नुवाकोटको प्रसंग ।

हरेक कार्यक्रममा केही न केही प्रभाव पारेकै हुन्छ, व्यक्तिले, वक्ताले ।

कांग्रेस क्षेत्र नं. १ र २ ले गत शनिवार संयुक्त रुपमा क्षेत्रिय सम्मेलन गरेको थियो । पार्टीको विधान विपरीत क्षेत्रीय सम्मेलन एकै स्थानमा गरिएकोले नुवाकोटलाई केन्द्र बनाएर केन्द्रीय नेता भएका रामशरण महत र अर्जुन नरसिंह केसी कार्यक्रममा सहभागी भएनन् । यसले पार्टीभित्र रहेको तिक्तता उजागर गरेको छ । लिखु गाउँपालिकाको चौघडामा भएको सम्मेलनमा पार्टी सभापति शेर बहादुर देउवा,  उपसभापति विजयकुमार गच्छदार र सह महामन्त्री डां प्रकाश शरण महतले सम्बोधन रहने अग्रिम सूचना रहेको थियो ।

कार्यक्रममा  महत र केसी उपस्थित भएनन् । यसबाट सकारात्मक संदेश गएन, सकारात्मक भयो त कसैले भन्दैन र भन्ने सम्भावना पनि छैन । नुवाकोट कांग्रेस उनीहरुलाई मिलाएरै जान सक्नुपथ्र्यो र आगामी दिनमा नमिलेकालाई मिलाएर । आउँदो समयमा जिल्लाका कांग्रेसजनले पनि सबैलाई मिलाएर जानतर्फ विशेष दबाब दिनुपर्छ । सच्चिएर सच्याउँदै, पार्टीका सबै पक्षलाई समेट्दै अघि बढ्दा नै जागरणलगायत पार्टीका यावत् गतिविधिले सार्थक परिणाम दिन सक्छन् ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology