आइतवार, फाल्गुन ११, २०७६
प्राविधिक, व्यावसायिक शिक्षा र तालीमसम्बन्धी नयाँ ऐन ल्याइने - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

प्राविधिक, व्यावसायिक शिक्षा र तालीमसम्बन्धी नयाँ ऐन ल्याइने



काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालीमको थप विकास, विस्तार एवं गुणस्तर अभिवृद्धि गर्ने ध्येयले छुट्टै नयाँ ऐन ल्याउने तयारी गरेको छ ।

ऐनले सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारका प्राविधिक शिक्षा सम्बन्धी नीतिलाई जोड्ने, लगानी अभिवृद्धि गर्ने तथा बजारको सीपयुक्त जनशक्तिको मागलाई सम्बोधन गर्न सहयोग गर्ने जनाइएको छ ।

सरकारले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय बनाउने नीति लिएको छ । शिक्षामा विनियोजित करीब दश प्रतिशत बजेटमध्ये प्राविधिक शिक्षामा चार प्रतिशत मात्र विनियोजित रहेको छ । हाल श्रमबजारमा वर्षेनी पाँच लाख युवा रोजगारीमा निस्कन्छन् । तीमध्ये स्वदेशका सरकारी र निजी क्षेत्र गरी करीब एक लाखमा रोजगारी सिर्जना हुने र स्वदेशमा सीप सिकेर गएका युवालाई विदेशमा पत्याइहाल्ने अवस्था नरहेको बताइएको छ ।

सो मन्त्रालय, काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेशनद्वारा ‘प्राविधिक र व्यावसायिक शिक्षा तथा तालीम’ विषयक आज यहाँ आयोजित कार्यक्रममा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले शिक्षा नीति २०७६ अनुसार प्राविधिक शिक्षालाई सम्बोधन गर्न नयाँ ऐन ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक शिक्षा र तालीम बिना आर्थिक समृद्धि हासिल गर्न सकिदैन । युवालाई स्वरोजगार बनाउने काम सीपयुक्त तालीमले गर्छ । तीनवटै सरकारले निजी क्षेत्रको सहकार्यमा प्राविधिक शिक्षा र तालीममा लगानी बढाउनु आवश्यक छ । ”

काठमाडाँै विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ मकाजु श्रेष्ठले घोकन्ते शिक्षा भन्दा सिर्जनशील र सीपयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको औल्याउनुभयो । “तालीम लिएर काम गर्ने ठूलो र सानो हुँदैन, कति अध्ययन ग¥यो भन्दा कति सीप हासिल ग¥यो भन्ने महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो । सोही मन्त्रालयका सहसचिव दीपक शर्माले समृद्ध नेपाल बनाउनका लागि प्राविधिक र व्यावसायिक शिक्षालाई थप प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा हरिप्रसाद लम्सालले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालीमका अवस्था, लगानी र आगामी कार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै प्राविधिक र व्यावसायिक शिक्षा तथा तालीम प्रवद्र्धन गर्न मौजुदा ऐन नियमबाट धेरै कार्य सकिने बताउनुभयो ।

उहाँका अनुसार विभिन्न मन्त्रालयले तालीम शीर्षकमा गत वर्ष रु २१ अर्ब खर्च गरेका थिए । सरकारी १८ निकायबाट लामो र छोटो गरी ८४ हजार ६५० जनाले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालीम प्राप्त गरेका थिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा दिनेशचन्द्र देवकोटाले राज्यले अन्य शिक्षा र प्राविधिक शिक्षाका बीचमा फरक छुट्याउन नसक्दा प्राविधिक शिक्षा पछाडि परेको हो भन्नुभयो । प्राविधिक र व्यावसायिक शिक्षा र तालीमविज्ञ प्रा डा राजेन्द्र अधिकारीले सरकारलाई प्राविधिक शिक्षामा लगानी बढाउन सुझाव दिनुभयो ।

कार्यक्रममा काठमाडाँै विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा महेशनाथ पराजुलीले बजारको मागअनुसार सीपका तालीम र शिक्षा आवश्यक रहेकामा जोड दिनुभयो । सोही विश्वविद्यालयका स्कुल अफ एजुकेशनका कार्यक्रम संयोजक प्रा डा प्रकाश भट्टराईले विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षा र तालीमसम्बन्धी विभिन्न तहमा उच्च शिक्षा अध्ययन गराइरहेको जानकारी दिनुभयो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology