मापदण्ड मिच्ने क्रसर बन्द

अनुगमन समितिले जिल्लामा मापदण्डविपरीत सञ्चालित क्रसर र फिरफिरे बन्द गराएको छ । प्रजिअ श्यामप्रसाद भण्डारी नेतृत्वको टोलीले २९ वटा क्रसर उद्योग र बालुवा धुने ६३ वटा फिरफिरेमा बिजुली आपूर्ति रोकिदिएको हो । पृथ्वीराजमार्ग वरपर सञ्चालित उद्योगले राजमार्ग र त्रिशूली नदी प्रदूषित बनाउनुका साथै करसमेत छल्दै आएको समितिको ठहर छ ।

प्रदूषण नियन्त्रण गर्न प्रशासनले पटकपटक सूचना जारी गरे पनि उद्योगले अवज्ञा गर्दै आएका थिए । ‘बालुवा प्रशोधन र गिट्टी कुट्ने नाममा व्यापक राजस्व छली, सयौं रोपनी सार्वजनिक जग्गा अतिक्रमण, विद्युत् चोरीजस्ता क्रियाकलाप नियन्त्रण गर्न सबै उद्योग बन्द गरिएको हो,’ प्रजिअ भण्डारीले भने ।

उनका अनुसार यी उद्योगले राजमार्गमा बढाएका छन् । उद्योगका ट्रिपरले सवारी दुर्घटनासमेत बढेको छ । स्थानीय तहका पदाधिकारीकै संलग्नतामा राजमार्गवरपर एक दर्जन बालुवा र ढुंगाखानी सञ्चालनमा छन् । ‘क्रसर र फिरफिरे बन्द गरिए अवैध खानी पनि स्वत: बन्द हुनेछन्,’ सहायक प्रजिअ धोलकराज ढकालले भने ।

सञ्चालकहरूले सरोकारवाला निकायसम्म ‘सेटिङ’ मिलाएर नदीजन्य पदार्थ तस्करीको जालो फैलाइरहेका छन् । ‘सेटिङ’ मिलाउन लागेको खर्चसमेत सामग्रीमै जोडेर ग्राहकसँग असुलिन्छ ।

क्रसर व्यवसायी, ट्रयाक्टर र ट्रिपर ढुवानी व्यवसायी तथा खानी सञ्चालकले ‘सेटिङ’ मिलाउन मासिक ६ लाखसम्म संकलन गर्ने गरेका छन् ।

‘हामी व्यवसाय हेरेर मासिक १२ देखि १५ हजारसम्म लेबी बुझाउँछौं, रकम संकलन गर्ने समूहले ककसलाई भागबन्डा गर्छ, थाहा छैन,’ थाक्रेका एक क्रसर व्यवसायीले भने ।

प्रतिकृया दिनुहोस