मङ्लबार, चैत्र ६, २०८०
यी हुन् राष्ट्रिय झन्डाका ‘डिजाइनर’, यसरी बन्यो डिजाइन - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

यी हुन् राष्ट्रिय झन्डाका ‘डिजाइनर’, यसरी बन्यो डिजाइन


नारायण ढुंगाना (रासस)

काठमाडौं, असोज १ । नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झन्डा नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे ।

हाम्रो झन्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र तर्क आफैं हराउँदै गए ।

अहिले सरकारले संविधान दिवसका दिन राष्ट्रिय झन्डालाई महत्व दिएपछि झन्डाको चर्चा फेरि चल्न थालेको छ ।

नेपालको संविधानको धारा ८ मा ‘सिम्रिक रङको भुइँ र गाढा नीलो रङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकारअंकित भएको झन्डा नेपालको राष्ट्रिय झन्डा हो’ भनिएको छ ।

झन्डाको धार्मिक, आध्यात्मिक तथा व्यावहारिक महत्व ठूलो छ ।

हालको अवस्थाको झन्डाको डिजाइन गर्ने आर्किटेक्ट तथा इन्जिनियर ८५ वर्षीय शंकरनाथ रिमाल हुन् ।

काठमाडौंको नक्सालमा बस्दै आएका नेपाल कला परिषद्का महासचिव रिमाल बुढेसकालमासमेत कला सिर्जनामा तल्लीन छन् ।

काठमाडौंको टंगालमा जन्मिएका रिमाल कोलकाता विश्वविद्यालयअन्तर्गत् बंगाल इन्जिनियरिङ कलेजबाट सन् १९५७ मा इन्जिनियरिङ पास गरेका हुन् । त्यसपछि उनी सदर पब्लिक निक्सारी अड्डामा जागिरे भए ।

वि.सं. २०१८ वैशाख १ गते राजा महेन्द्रबाट उद्घाटन भएको राजधानीकै आकर्षक सहिदगेट उनले नै डिजाइन गरेका हुन् ।

होटल सोल्टी, नेपाल प्रज्ञा–प्रतिष्ठान, अमृत साइन्स कलेज, शान्तिगृह, शारदा सदन, भैरहवा र पोखराको नेपाल राष्ट्र बैंक उनकै डिजाइनमा तयार भएको हो ।

राष्ट्रकै गौरव गर्नलायक हालको अवस्थाको राष्ट्रिय झन्डाको डिजाइनर रिमाल अहिले झन्डाको महत्व बढ्दै गएकामा हर्षित छन् ।

उनले आफ्नो शशी शंकर कलालयमा राष्ट्रिय झन्डाको डिजाइन अध्येताहरुलाई अध्ययन गर्न मिल्नेगरी बनाएरै राखेका छन् ।

झन्डाको महत्वलाई सर्वसाधारण नागरिकले बुझून् र उनीहरुमा पनि अपनत्व महसुस होस् भन्ने हेतुले सरकारले हरेक नागरिकको घरघरमा राष्ट्रिय झन्डा फहराउनसक्ने गरी कार्यविधि संशोधनसमेत गरिसकेको छ ।

यसपटकको संविधान दिवस नै झन्डामय बनाउन सरकारले आह्वान गरेपछि झन्डाको महत्व र चर्चा चुलिँदो छ ।

दयाराम श्रेष्ठद्वारा लिखित ‘नेपालको राष्ट्रिय झन्डा’ इतिहासमूलक कृतिले वि.सं. २०५३ मा मदन पुरस्कार पाएको कुरा पनि यहाँनिर स्मरणीय छ ।

यसरी बन्यो डिजाइन

वि.सं. २०१९ अघि नेपालमा निश्चित मापदन्डको झन्डा थिएन । परम्परादेखि नै दुई त्रिभुज र चन्द्र–सूर्य राख्ने चलन थियो । कसैले सूर्य माथि त कसैले तल राखेर झन्डा बनाउँथे । त्यसमा मान्छेको अनुहार पनि राखिएको हुन्थ्यो ।

‘चन्द्र–सूर्य भनेको छ, आफूखुसी जे कल्पना गरेर राखे पनि भो । तर, त्रिकोण, चन्द्र–सूर्य, रातो र नीलो रङचाहिँ जसले पनि राख्थे’–रिमालले विगतको अनुभव सुनाउँदै भने ।

रिमालकाअनुसार नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बनेपछि मन्त्री जाँदा एउटा झन्डा, राजा जाँदा अर्काे झन्डा, सचिव जाँदा अर्काे झन्डा प्रयोग हुन्थ्यो ।

फरक–फरक झन्डा देखेपछि नेपाललाई सोधिएको थियो, ‘नेपालको आधिकारिक झन्डा कुन हो ?’ सबै अक्क न बक्क भए । यो खबर राजाकहाँ पुग्यो । त्यसबेला संविधान निर्माण समितिका प्रमुख होराप्रसाद जोशी थिए ।

राजा महेन्द्रले शासन हातमा लिएपछि २०१८ सालमा नयाँ संविधान लेख्ने बेला थियो । त्यस समितिका सदस्य कृष्णप्रसाद पन्त थिए । उनका भिनाजु डा. बलराम जोशीको घर पनि रिमालले नै डिजाइन गरेकाले नियमित अन्तरक्रिया पनि भइरहन्थ्यो ।

त्यही सम्पर्कका कारण उनलाई राष्ट्रिय झन्डा बनाउने महत्वपूर्ण अवसर मिलेको हो ।

रिमालले सम्झिए–‘गर्न सक्छौ ? भन्दा मैले सक्छु भनें ।’

त्यसै बनाएर त भएन । ठूलै चुनौतीको भारी बोकेर उनले अनुसन्धान सुरु गरे ।

त्यसबेलाका बूढापाका जानकारहरुसँग भेट्न थाले । संयोग आफ्ना हजुरबा शिवनाथ कविराज र संस्कृतका धुरन्धर विद्वान् थिए । जिजुबाजे पण्डित विश्वनाथ शास्त्री पाणिनिको अवतार नै भनिन्थे । उनीहरुबाट प्राप्त सूचना झन्डा बनाउनका लागि अमूल्य स्रोत बन्यो ।

उनले वास्तुशास्त्र पनि अध्ययन गरे ।

‘शास्त्रमा तीन बाइ चारको रेक्टेङगल बनायो भने अनन्त हुन्छ । योभन्दा राम्रो नाउँ केही पनि छैन भन्ने पत्ता लाग्यो । हाम्रो झन्डाको नीलो रङ अनन्तको रङ हो । पानी र आकाशको रङ पनि नीलो । आकाश भनेको अनन्त हो । अनन्तकालदेखि आइराखेको मुलुक फेरि अनन्तसम्म जानुप¥यो भनेर डिजाइन गरें’–झन्डाको डिजाइनबारे रिमालले भने ।

तीन हप्ताको प्रयासमा तयार भयो ।

‘बनाएर बुझाउनेबित्तिकै सबैले हेरे । मन पराए । चित्त बुझाए । ओके गरे । कसैको प्रतिक्रिया नै आएन । एकैपटक संविधानमा आयो सकियो’–रिमालले भने ।

तीन बाइ चारको रेक्टेङगललाई हेरेर चन्द्र–सूर्यलाई डायग्राममा तयार पारिएको उनी बताउँछन् ।

रङ फेर्नुपर्छ कि भन्ने उनलाई लागेको थियो । तर, गोपालप्रसाद रिमालले ‘रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो’ भनेर लेखेकाले त्यसलाई परिवर्तन गर्दा परम्परा बिग्रन्छ भन्ने उनलाई लाग्यो ।

‘सिम्रिक रङ विवाह, व्रतबन्धलगायत कुनै शुभकार्य, चुनाव लड्दा होस् या घरमा बिदाइ हुँदा होस् या होलीमा होस् हरेक समय प्रयोग हुन्छ । महिलाको सौभाग्यको रङ पनि रातो हो । शक्ति र क्रान्तिको रङ पनि रातो हो । त्यसकारण यति धेरै कुरा मिल्ने हुँदाहुँदै परिवर्तन गर्न मनले मानेन’–रिमालले थपे–‘नीलो भनेको शान्ति, जल र आकाशको पनि रङ भो । त्यो अनन्तकाललाई मास्ने कुरै भएन । सेतोको अर्थ शुद्ध अथवा पवित्रता भइहाल्यो ।’

कलाकार रिमाल महाभारतकालदेखि नै यही किसिमको झन्डा प्रयोग भएकाले यो नेपालको परम्परा हो भन्छन् ।

महाभारतमा कौरवलाई मद्दत गर्न नेपाल (त्यतिबेला नेपाल नै नाम भन्ने थिएन)बाट पनि सेना गएको थियो ।

‘त्योबेलामा पनि नेपाल भन्ने शब्द रहेछ । हाम्रो हिसाबले त सात हजार वर्षपहिलेको कुरा हो । त्यसैले त्यो महत्व हराउनु पनि भएन’–रिमाल थप्छन् ।

चन्द्र र सूर्यको प्रयोग

झन्डाको माथिल्लो भागमा चन्द्रमा र तल्लो भागमा सूर्यको प्रयोग हुन्छ । सूर्यको बाह्र कला हुन्छ भन्ने मान्यता छ । चन्द्रमाको १६ कला हो । कसैले माथि सूर्य राख्ने, कसैले चन्द्र माथि राख्ने गर्थे । हालको झन्डामा माथि चन्द्रमाको आठ कलामात्रै देखिएको छ । तल सूर्यको १२ कला छ ।

सूर्यलाई धेरै पराक्रमी मानिन्छ । सूर्य प्रज्ञा र चन्द्रमा करुणाका प्रतीक हुन् ।

‘प्रज्ञाभन्दा त करुणा धेरै महत्वपूर्ण हुन्छ नि होइन र ? जतिसुकै प्राज्ञ भएपनि करुणा भएन भने रावणजस्तो हुन्छ । करुणा हुनेबित्तिकै बुद्ध हुन्छ । धार्मिक हिसाबले पनि झन्डामा प्रयोग भएको चन्द्र–सूर्यको त्यति ठूलो महत्व छ’–राससँगको कुराकानीमा उनले प्रस्ट्याए ।

वि.सं. २०६६/६७ मा झन्डा फेर्ने कुरा आउँदा उनी दुखित भए । धार्मिक मान्यता, झन्डाको इतिहास र महत्व बुझेपछि भने झन्डा फेर्ने कुरा हराएको उनले बताए ।

चन्द्र र सूर्य अनुपम

पाकिस्तानको चन्द्र बेग्लै छ । जापानले सूर्याेदयको देश भनेर सूर्य राखेको छ । हाम्रो सूर्य र चन्द्रको उपयोग फरक छ । धेरै देशले सूर्य र चन्द्र प्रयोग गरेका छन् । तर, हाम्रो व्याख्यासँग कसैको मिल्दैन ।

त्रिकोण किन ?

त्रिकोण आकारको नेपालको झन्डा विश्वकै एकमात्र हो । सबै देशको झन्डा चार कुना छ । हाम्रो झन्डाको माथिल्लो त्रिकोणको माथिको भाग ५७.९४४११ डिग्रीको कोणमा बनेको छ । त्यसको अर्काे छेउको दायाँ कुना ३२.७५५८९ डिग्रीको छ । तल्लो त्रिकोण केही ठूलो छ । त्यसको बायाँ कुना ९० डिग्रीको छ भने दायाँ छेउको कुना ४५ डिग्रीको छ ।

तलमाथिको छेउको रातो भागको चोसो बराबर रेखामा हुन्छ भने माथिको नीलो चोसो अलिकति बाहिर जान्छ ।

उनी भन्छन्–‘हाम्रो पहाडहरु सबै त्रिकोण नै त्रिकोण छ । हामीलाई त्रिकोण फेर्नुपर्ने के दरकार ? हेर्नेबित्तिकै यो नेपालको झन्डा हो भन्ने सीधै पत्ता लाग्छ । अरुको झन्डा एउटै रङको छ । कसैको माथि फर्केको छ, कसैको तल फर्केको छ । कसैको अगाडि त कसैको पछाडि छ । सबै झन्डामा ५/६ ओटा रङमा त छ नि, अलिकति फरक भनेको अफ्रिकनको हो ।’

अरु देशको झन्डा चिन्न त सोध्न जानुपर्छ या इन्साइक्लोपिडिया पल्टाउनुपर्छ । तर, नेपालको झन्डा खोजिरहनु पर्दैन । यसले परम्परादेखि नै हाम्रो पहिचान राखेर छाडेको उनी बताउँछन् ।

‘यस्तो यूनिक देश छ नि हाम्रो । त्यसैले झन्डा पनि यूनिक छ । सानो देश जहिले पनि संसारमा हेर्नेपर्ने मुलक भनेर किन हाम्रो मुलुकमाथि आउँछ त ? फरक छ नि त हाम्रो मुलुक, भलै आर्थिकमा पछि परेको होला’–उनले भने ।

घरघरमा झन्डा

अमेरिकामा हरेक व्यक्तिले घरमा र मोटरमासमेत झन्डा राख्न पाउँछन् । अहिले सरकारले नागरिकलेसमेत झन्डा राख्न पाउने व्यवस्था गरेकामा रिमाल खुसी छन् ।

‘ढिलै भएपनि सरकारले बुद्धिमतापूर्वक काम गरेको छ । आफ्नो गौरव हो, हरेकको घरमा राख्न किन नदिने ?’ उनले खुसी हुँदै भने ।

अमेरिकामा झन्डा फ्याँक्न पाइँदैन । लडाउन र रङ पोत्न पनि पाइँदैन । सबैले पालना गरेका छन् । नेपालमा भने सरकाले जनतालाई झन्डा प्रयोग गर्न सिकाउनुपर्ने उनको सुझाव छ ।

सरकारले यही असोज ३ गते संविधान दिवस नै झन्डामय बनाएर मनाउन लागेको सुन्दा रिमाल औधि खुसी छन् ।

‘पहिले नै गर्नुपर्ने काम ढिलै भएपनि गरेकामा सरकारलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु’–खुसी हुँदै रिमालले भने ।

यस वर्षको संविधान दिवसको नारा नै ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झन्डा फहराऔं’ भन्ने छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक/प्रकाशक : उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    Email –     [email protected],
                    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology