सोमवार, फाल्गुन ५, २०७६
हिउँदे वर्षा लम्बिने सम्भावना - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

हिउँदे वर्षा लम्बिने सम्भावना



काठमाडौँ, पुस २४ –  मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदे वर्षा लम्बिने जनाएको छ । छिटो हिउँदे वर्षा सुरु भएर पनि-तीनपटक हिउँदे वर्षा भइसकेको छ । हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा ह्वात्तै गिरावट नआए नि चिसो भने लामै समय रहने अनुमान महाशाखाले गरेको छ । अझै पनि हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम जारी रहने महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

पौडेलले भन्नुभयो, “दुई–तीन दिन कायम रहेर छिटो वर्षा सकिने तर फेरि अर्को वर्षा भइहाल्ने खालको वर्षा चक्र चलिरहेको छ । औसतमा गएको वर्षभन्दा यसपटकको वर्षाको दर पनि बढेको छ ।” वर्षासँगै हिमपात पनि गएको वर्षभन्दा बढी भएको महाशाखाले विश्लेषण गरेको छ ।

तेस्रो पटकको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हो । जसका कारण मङ्गलबारदेखि नै देशभर बदलीको अवस्था कायम रह्यो । बुधबार बिहानैदेखि देशका विभिन्न भूभागमा वर्षा सुरु भएको मौसमविद् पौडेलले जानकारी दिनुभयो । बुधबार र बिहीबार पानी पर्ने क्रम उस्तै रहन्छ, शुक्रबारदेखि भने मौसम केही खुल्नेछ ।

उहाँका अनुसार देशको पश्चिमदेखि पूर्वसम्मका सबै आकाश बादलले ढाकेको छ । उच्च हिमाली र पहाडी भेगमा हिमपात सुरु भएको छ भने मध्य तथा तल्लो भेगमा वर्षा सुरु भएको छ । सुदूरपश्चिममा बिहीबार साँझ नै मौसम सुधार हुने सङ्केत रहे पनि अन्यत्र भने शुक्रबारबाट मात्र सुधार हुने उहाँले बताउनुभयो ।
तीन दिनसम्मको अवधिमा देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान महाशाखाले गरेको छ । यस पालाको वर्षामा ४० देखि ८० प्रतिशतसम्मको वर्षा काठमाडौँलगायत विभिन्न मुख्य सहरमा हुने अनुमान गरिएको छ ।

फेरि अर्को वर्षा भित्रिँदै

तेस्रो चरणको हिउँदे वर्षा नसकिँदै नेपालमा चौथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको छ । नेपालको सिमानातिर लम्कँदै गरेको त्यो न्यूनचापीय प्रणालीले फेरि सोमबारदेखि वर्षाको सङ्केत गरिरहेको मौसमविद् पौडेलले बताउनुभयो । उहाँले थप्नुभयो, “एकदम चाँडो चाँडो आइरहेको छ, शनिबार र आइतबार केही राहत महसुस गरिए पनि सोमबारदेखि फेरि बदलीको अवस्था आउँदै छ ।”

भूमध्य सागरमा उत्पन्न भएको पश्चिमी न्यूनचापीय प्रणाली कृष्ण सागर, क्यास्पियन सागरको आकाश हुँदै अफगानिस्तान, पाकिस्तान, जम्मुकाश्मीरको बाटो समातेर नेपालको पश्चिमी भूभागबाट वर्षा गराउन आइपुगेको हो । यस प्रणालीको आकार ठूलो भएमा तल तल उड्दै आउने गर्छ । सानो प्रणाली हँुदा भने उपल्लो क्षेत्रबाट नेपाल भित्रने गर्छ । अहिले कायम रहेको र आउने प्रणालीलाई बल दिन भारतको गुजरात र राजस्थानमा बनिरहेको दक्षिणी मौसमी प्रणालीले सघाइरहेको छ । जसले गर्दा हिउँदे वर्षाको समय र औसत दर वृद्धि गर्न मद्दत गरिरहेको महाशाखाले बताएको छ ।

हिमाली क्षेत्रका उडान रद्द

वर्षा गराउने बादल देशका सबै आकाशमा फैलिएकाले भिजिबिलिटी कम हुँदै गएको छ । हाल कायम रहेको तीन किलोमिटर भिजिबिलिटीको मद्दतले अन्तर्राष्ट्रिय उडान गराउन सकिन्छ तर आन्तरिक उडानमा भने समस्या आउने कारणले हिमाली भेगका लुक्ला, जोमसोम लगायतका क्षेत्रमा जाने हवाई उडान बुधबार रद्द गरिएका छन् ।

मौसममा सुधार आएका अन्यत्र तल्लो भेगका उडानका लागि भने बलियो सञ्चार आदान प्रदानपछि मात्र अनुमति दिने गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा लागेको हुस्सु र कुहिरो विस्तारै हटेर जाने क्रममा रहेको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology