राष्ट्रियसभा अध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं – राष्ट्रियसभाको अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयन दर्ताको समय रहेको छ ।५९ सदस्यीय राष्ट्रियसभाको अध्यक्षका लागि नेकपा एमालेले पर्शुराममेघी गरुङ र गणेश तिमिल्सिना मध्ये एकलाई उम्मेदवार बनाउने सम्भावना छ ।

तर अहिले नै टुंगो भने लागेको छैन । वाम गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । राष्ट्रियसभा अध्यक्षको पनि प्रतिनिधिसभाका सभामुखको जस्तै भूमिका हुने संवैधानिक व्यवस्था छ । यसमा एमाले नेता गुरुङको सम्भावना देखिएको छ ।

यस्तै, एमाले नेता तिमिल्सेना प्रदेश ४ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका हुन् । एमालेभित्र पुराना नेता भए पनि अवसर नपाउनेमा पर्छन्, तिमिल्सेना । उनी पञ्चायती व्यवस्थामा चार वर्षसम्म जेल बसेका थिए । यस्तै, अनेरास्ववियुका पूर्वअध्यक्ष एवं एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले पनि अध्यक्षमा दाबी गरेका छन् ।

तर, उनलाई प्रमुख सचेतक वा सचेतकमध्ये एकमा व्यवस्थापन गर्ने तयारी भएको एमाले स्रोतले जनाएको छ । उम्मेदवार टुंगो लगाउने विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सोमबार बिहानैदेखि नेताहरुसँगको परामर्शमा रहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री ओलीले परामर्शपछि उम्मेदवारको नाम टुंगो लगाउनु हुनेछ ।’

माओवादी नेता शर्माको पनि दाबी

राष्ट्रिय सभाका सदस्यमध्ये सबैभन्दा वरिष्ठ भएकाले अध्यक्ष पाउनुपर्ने माओवादी नेता दिननाथ शर्माले पनि दाबी गरेका छन् ।

‘अध्यक्ष प्रचण्डले राष्ट्रिय सभाको अध्यक्ष एमालेलाई दिने सहमति गरिसक्नुभएकाले नैतिक रूपमा दाबी गर्ने अवस्था छैन,’ शर्माले भने, ‘भविष्यमा एमाले माओवादी एउटै पार्टी हुने भएकाले अनुभवी एवं सिनियर नेताको हिसाबले म हुँदा ठीकै हुन्थ्यो ।’एमाले नेताले अध्यक्षको जिम्मेवारी दिए, लिन तयार रहेको उनको भनाइ छ ।

यस्तै कांग्रेसले पनि आफ्ना उम्मेदवार खडा गर्ने नगर्ने बारे निर्णय गरेको छैन । ‘राष्ट्रियसभामा पार्टीको अवस्था कमजोर छ । अहिलेसम्म निर्णय भएको छैन । तर निर्णय भएमा उम्मेदवारी दिने सम्भावना भने छ’ कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले बताए ।

राष्ट्रियसभामा एमालेका २९, कांग्रेस र माओवादीका समान १३ तथा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई दुई गरी ५९ सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस