बिहिबार, साउन २, २०७६
जनसम्पर्क समितिको तीनदिने प्रशिक्षण डेनमार्कमा सम्पन्न -

जनसम्पर्क समितिको तीनदिने प्रशिक्षण डेनमार्कमा सम्पन्न



काठमाडौँ – नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली जनसम्पर्क समिति, डेनमार्कको संयोजनमा डेनमार्कको कोपेनहेगनमा भएको जनसम्पर्क समितिको तीनदिने विश्वस्तरीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।

प्रशिक्षणको अन्तिम दिन विभिन्न विषयका १० कार्यपत्र प्रस्तुत गरिएको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो । प्रशिक्षणमा काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिका’ विषयमा, नेता डा मिनेन्द्र रिजालले ‘नेपाली काङ्ग्रेसको विधान र नेपाली जनसम्पर्क समिति’ विषयमा. नेता गोविन्द भट्टराईले ‘नेपाली लोकतन्त्रमा वामपन्थी (कम्युनिष्ट) सत्ता’ विषयमा, रामजी दाहालले ‘राजनीतिक सञ्चार’ विषयमा तथा नानुमैयाँ बाँस्तोलाले ‘महिला सशक्तिकरणमा नेपाली काङ्ग्रेस’ विषयमा प्रशिक्षण दिनुभएको थियो ।

यस्तै किरणराज शर्मा पौडेलले ‘विदेशमा बस्ने नेपाली ः लोकतान्त्रिक आन्दोलन र राष्ट्रको विकासमा योगदान’ विषयमा, राजु नेपालले ‘नेपाली काङ्ग्रेसको आर्थिक नीति ः राष्ट्रिय बजेट र विकासको प्रश्न’ विषयमा, प्रस्तुति दिनुभएको सचिव आचार्यले जानकारी दिनुभयो ।

नेपाल जनसम्पर्क समितिको तर्फबाट ‘नेपाली जनसम्पर्क समिति ः समन्वय, सङ्गठन र नेपाली काङ्ग्रेसको भूमिका’ विषयमा र पुरुषोत्तम दाहालले ‘महासमितिको राजनीतिक प्रस्ताव ः जानकारी र समिक्षा’ विषयमा प्रस्तुति दिनुभएको थियो । प्रशिक्षणको दोस्रोदिन विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिएका थिए ।

प्रशिक्षणपश्चात् प्रवक्ता शर्माको सभापतित्वमा भएको समापन कार्यक्रममा काङ्ग्रेस उप–सभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, विभिन्न मुलुकस्थित जनसम्पर्क समितिका सभापतिलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology