आइतवार, मंसिर २९, २०७६
विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति र पदाधिकारी नियुक्ति गरिनुपर्छ: सांसद लामा - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति र पदाधिकारी नियुक्ति गरिनुपर्छ: सांसद लामा



काठमाण्डौ – मुलुकका विभिन्न विश्वविद्यालयमा रिक्त पदाधिकारीको खुल्ला प्रधिस्पर्धाका आधारमा नियुक्ति, भ्रष्टाचार न्यूनीकरण, पर्यटन प्रवद्र्धन र ऐतिहासिक दस्तावेजको संरक्षणका विषयमा प्रतिनिधिसभामा ध्यानाकर्षण गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद् नवीना लामाले प्राज्ञिक थलोका रुपमा रहेको विश्वविद्यालयमा डर लाग्दा विकृति मौलाउँदै गएकाले राजनीतिक भागबण्डामा नभई खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति र पदाधिकारी नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा डिला सङ्ग्रौलाले नेपाली जनताले आन्दोलनको बलमा सामन्तवादको प्रतिकका रुपमा रहेको राजतन्त्रलाई धपाएपछि मुलुक सुशासन र विकासको बाटोमा अघि बढ्ला भन्ने आशा गरेकामा त्यसको विपरीत अहिले भ्रष्टाचार र विषादीका घटनाले राष्ट्रलाई कमजोर तुल्याएको धारणा व्यक्ति गर्नुभयो ।

सांसद नारायण खड्काले भन्नुभयो, “नेपालको सार्वभौम, स्वतन्त्रता र अखण्डतासँग जोडिएको ऐतिहासिक दस्तावेज हराएको भन्ने विषयले हाम्रो राष्ट्रियता र राष्ट्रभक्ति कति कमजोर रहेको भन्ने पुष्टि गर्छ, त्यस्ता दस्तावेजको खोजी र संरक्षणमा सरकारले ध्यान पु¥याओस् ।” सांसद टेकबहादुर बस्नेतले सरकारले श्रमिकका लागि न्यूनतम ज्याला निर्धारण गरे पनि अहिलेसम्म त्यो कार्यान्वयनमा आउन नसकेको बताउनुभयो ।

सांसद तीलबहादुर क्षेत्रीले प्रदेश नं ५ को एकमात्र नाकाका रुपमा रहेको त्रिवेणीमा यातायातको सहज पहुँच विस्तार गर्न दुम्किवासदेखि त्रिवेणीसम्म सडक विस्तारका लागि माग गर्नुभयो । सांसद दिलकुमारीेले संविधानले आत्मसात् गरेको समावेशी र समानुपातिक सिद्धान्त विपरीत पछिल्लो समय लोकसेवा आयोगले गरेको विज्ञापन सच्याउन माग गर्नुभयो ।

सांसद दीपकप्रकाश भट्टले स्न २०२० का लागि घोषणा गरिएको पर्यटन वर्षलाई सफल तुल्याउन बडीमालिका र खप्तड क्षेत्रमा पूर्वाधार विकास गर्न र टनकपुर क्षेत्रमा पर्यटन कार्यालय खोल्न सुझाव दिनुभयो । सांसद नन्दलाल रोक्काले कहिले खडेरी, कहिले बाढी र डुबानबाट पीडित बाँकेका कृषकले अहिले धानका लागि रासायनिक मलको अभाव खेप्नु परिरहेको हुँदा यथाशक्य मलको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद नारायण खतिवडाले बहुवर्षीय ठेक्का लगाइएका कतिपय आयोजनाको निर्माणको समयसीमा सकिएककाले ती आयोजनाका लागि अब कति वर्षसम्म म्याद थपिन्छ भनी प्रश्न गर्नुभयो । सांसद पवित्रा खरेलले मुलुकको शान्ति सुरक्षामा खलल ल्याउने ढङ्गले झापाको बिर्तामोडस्थित एक वडा कार्यालयमा बम विष्फोटन हँुदा ठूलो क्षति भएकाले त्यसमा संलग्नको पहिचान गरी कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

सांसद पार्वतीकुमारी विशङ्खेले केही दिनअघि दैलेखमा पहिरोबाट १३ घरमा क्षति पु¥याएको तथा २६ घर जोखिममा परेका हुँदा अप्ठेरोमा परेको उक्त बस्तीलाई स्थानान्तरण गर्न माग गर्नुभयो । सांसद पुष्पा भुसालले व्यक्तिको बाँच्न पाउने अधिकारको संरक्षण गर्नु राज्यको दायित्व भएकाले राजमार्गमा हुने दूर्घटनालाई न्यून गर्ने उपायको खोजी यात्रामा रहेका सर्वसाधारणको अकालमा मृत्यु हुने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रदीप यादवले मधेश आन्दोलनका बलमा संविधानले आत्मसात् गरेको राज्यका विभिन्न निकायमा आरक्षण गर्नेसम्बन्धी व्यवस्थाको लोक सेवा आयोगको पछिल्लो विज्ञापनले त्यसमा चोट पु¥याएको जनाउँदै सच्याउन माग गर्नुभयो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    प्रकाशक / सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology