बुधबार, चैत्र २६, २०७६
रसुवामा हेलिप्याड बनाउन असहज - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

रसुवामा हेलिप्याड बनाउन असहज



रसुवा, २५ पुस – जिल्लाका अधिकांश बस्तीमा हेलिप्याड नहुँदा आकस्मिकरूपले लिनुपर्ने हेलिकप्टर सेवा अझै पनि ग्रामीणवासीले सहजरूपमा लिन सकेका छैनन् । हेलिप्याड मानव बस्तीको नजिक आवश्यकपर्ने र जिल्लाको प्राय भिरालो जमिन, गाउँटोल नजिक खुलाचौर वा सार्वजनिक स्थान नभएको, खेती गर्ने जमिनका वरिपरि बोटबिरुवा भएका कारण आकस्मिक हावाई सेवा लिन समस्या परिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

वर्षायाममा प्रायजसो ग्रामीण सडक बाढीपहिराले अवरूद्ध हुने र दुर्घटनाबाट गम्भीर चोटपटक लागेका, एपेन्डिसाइट भएका र गर्भवतीसमेतलाई छिटोछरितो हेलिकप्टरद्वारा राजधानीका सुविधा सम्पन्न अस्पताल पठाउन हेलिप्याडको जरुरी भएको नागरिक समाजले जनाएको छ ।

प्रत्येक ग्रामीण बस्तीमा हेलिप्याड निर्माणका लागि विगत लामो समयदेखि आफूले आवाज उठाउँदै आएको र छिटोछरितो कार्यान्वयन हुन स्थानीय सरकारसमक्ष आग्रह गरी रहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार जिल्लाका अधिकांश बस्तीको भू–बनावट विकट भएको र जटिल बिरामीका लागि प्रयोग गर्नुपर्ने हेलिकप्टर सहजरूपमा अवतरण गराउने वातावरणका लागि पूर्वाधार निर्माण गराउन पाँचवटै गाउँपालिकासँग समन्वयकारी भूमिका निर्वाह गरिएको बताउनुभयो ।

पहिलो चरणमा पाँच गाउँपालिका सदरमुकाम र दोस्रो चरणमा प्रत्येक बस्तीलाई पायक पर्नेबीच भागमा निर्माण गराइ हेलिप्याड निर्माण गर्ने अवधारणा बनाउनसमेत गाउँपालिकासँग आग्रह गरिएको जिल्ला समन्वय प्रमुख भट्टले जानकारी दिनुभयो । स्थानीय सरकार गठन भएको लामो समय बितिसक्दा पनि जिल्लाका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिकाबाहेक अन्य गाउँपालिकाले हेलिप्याड निर्माण गराउने अवधारणा ल्याउन बाँकी रहेको छ ।

गोसाइँकुण्डले स्याफ्रुबेसी, जिल्ला सदरमुकाम धुञ्चे एवं आफ्नो कार्यक्षेत्रको छ वडामा हेलिप्याड निर्माण गर्ने अवधारणा बनाइसकेको र कार्यान्वयनमा ल्याउन प्रक्रिया अगाडि बढिरहेको गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो ।

पर्यटकले प्रकृतिसँग रम्न क्षेत्र गोसाइँकुण्ड, लाङ्टाङ हिमाल, थुमनको नाकथली जस्ता पर्यटकीय प्रमुखस्थल एवं ऐतिहासिक व्यापारिक नाका रसुवागढीसमेत गोसाइँकुण्डभित्र पर्ने भएकाले अत्यावश्यक सेवाका लागि झिकाइने हेलिकप्टर सहज तरिकाले अवतरण गराउने व्यवस्थापनका लागि उपयुक्त स्थान छनोट गर्ने काम भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology