आइतवार, फाल्गुन ११, २०७६
कर तिर्दैनन् धादिङका इँटा उद्योगहरु - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

कर तिर्दैनन् धादिङका इँटा उद्योगहरु



हरिहरसिंह राठौर

धादिङ – जिल्लामा सबैभन्दा बढी उद्योग भएका धुनीबेंसी नगरपालिका लगायत पृथ्वीराजमार्गसँग जोडिएका साना ठूला उद्योगहरुले स्थानीय तथा प्रदेश सरकारलाई प्रदूषण कर तिर्न अटेर गरिरहेका छन् ।

न्यूनतम कर तिर्न र नवीकरण गर्न बारम्बार गरेको लिखित तथा मौखिक आग्रहलाई कुनै उद्योगीले नटेरेको स्थानीय तहले गुनासो गरेका छन् । धुनीबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले भने,- ‘नौविसेस्थित केएल दुगडले सञ्चालन गरेको युनाइटेड सिमेन्टलाई प्रदेश सरकारले प्रतिबोरा अढाई रुपैयाँ र नगरपालिकाले प्रतिबोरा ५० पैसा गरी ३ रुपैयाँ वातावरणीय कर भुक्तान गर्न पत्राचार गरेको डेढ वर्ष भयो तर कुनै उत्तर दिएन र कर पनि तिरेन ।’ उक्त नगरपालिकामा ३ वटा सिमेन्ट, २ वटा औषधि कारखाना, २७ वटा इँटा उद्योगहरु सञ्चालनमा छन् ।

त्यस्तै करिब सय रिसोर्ट र होटल, कुखुरा र बाख्रा फर्महरुलाई वातावरणीय मापदण्ड पालना गर्न र सामाजिक उत्तरदायित्व वहन गर्न नगरपालिका र वाग्मती प्रदेश सरकारले पटक-पटक पत्राचार गरेका थिए । प्रमुख आचार्यका अनुसार २०७२ को भूकम्पलगत्तै काठमाडौंबाट विस्थापित भएर नौबिसे ईलाकामा आएका २९ वटा इँटा उद्योगले सामान्य कर तिर्न पनि मानेनन् । कृषियोग्य नौबिसे फाँटलाई उद्योगमा बालिने कोइलाको धुवाँले प्रदूषित बनाएको उजुरी परेपछि नगरपालिकाले मापदण्डमा चलाउन र प्रति इँटा २५ पैसा वातावरणीय कर तिर्न पत्राचार गरेको थियो ।

नगरपालिकाले श्रम ऐनअनुसार मजदुरका पारिश्रमिक, बीमा, सामाजिक सुरक्षा कोष, उद्योगहरुको सामाजिक लेखा परीक्षण लगायत सर्त पालना गर्न समेत पत्राचार गरेको थियो । तर, उद्योगहरुले कार्यरत मजदुरहरुको नामावलीसमेत उपलब्ध गराएका छैनन् । ‘हरेक उद्योगमा कम्तीमा ३ सयदेखि ६ सयसम्म मजदुरहरु काम गर्छन् तर श्रम ऐन लागू भएको छैन, कारबाही गर्ने स्पष्ट कानुन पनि छैन, बैंक ऋृण स्वीकृत गराउने बेला मात्रै नगरमा सम्पर्क राख्छन् अन्यथा कुनै सम्पर्क गर्दैनन’, नगरप्रमुख आचार्य भन्छन्, ‘अब कर नतिर्ने उद्योगलाई नवीकरण नगर्ने बाहेक उपाय छैन ।’

जिल्लाका नौबिसे, थाक्रे, गजुरी, छत्रेदेउराली, जीवनपुर, नीलकण्ठमा सञ्चालित ४२ वटा इँटा उद्योगहरुले करोडौं भ्याट छली गरिरहेको पाइएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology