बिहिबार, फाल्गुन १५, २०७६
स्तनपान कक्षसहित अपाङ्गता शौचालय निर्माण हुने - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

स्तनपान कक्षसहित अपाङ्गता शौचालय निर्माण हुने



काठमाडौँ, १ फागुन – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानमा शौचालय निर्माण गरिदिने भएको छ । काठमाडौँ महानगरपालिका र सङ्घबीच गत माघ २३ गते सम्झौतासमेत भएको थियो । कलङ्की, कोटेश्वर, चाबहिल र महाराजगञ्जमा पाँच वर्षभित्र शौचालय निर्माण गरी सञ्चालनमा ल्याइने जनाइएको छ ।

सम्झौताअनुसार शौचालय सञ्चालनमा आवश्यक पर्ने जनशक्ति तथा व्यवस्थापकीय काम सङ्घले गर्नेछ । ती शौचालय सञ्चालन गर्दा महानगरले तोकेको शुल्क लिइनेछ । यसरी सङ्कलन भएको शुल्कबाट व्यवस्थापन र मर्मतसम्भारको काम गरिसकेपछि बाँकी पैसा थप शौचालय निर्माणका लागि खर्च गरिने सङ्घका कार्यकारी अधिकृत हेमन्तकुमार दवाडीले जानकारी दिनुभयो ।

सम्झौताअनुसार पहिलो चरणमा कलङ्की र कोटेश्वरमा निर्माण भएपछि बाँकी दुई स्थानको काम अघि बढाइने जनाइएको छ । महिला शौचालयमा स्यानिटरी प्याड फाल्न मिल्ने तथा फ्यालिएका प्याडलाई वाष्पीकरण गरेर जोखिममुक्त बनाउने प्रविधि जडान हुनेछ । त्यस्तै बच्चालाई डाइपर फेराउने र स्तनपान गराउने ठाउँको पनि प्रबन्ध हुनेछ । प्रतिघण्टा १०० व्यक्तिले प्रयोग गर्ने आँकलन गरी यस प्रकारको शौचालयको ढाँचा अघि सारिएको हो ।

चार वर्षदेखि सार्वजनिक शौचालय निर्माणबारे छलफल गर्दै आएको कामपाले पनि सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई सार्वजानिक शौचालय निर्माणमा पहिलो प्राथमिकतामा राखेको छ ।

नयाँ शौचालय निर्माणसँगै मौजुदा सार्वजनिक शौचालयको गुणस्तर सुधार गरिने, तिनमा पहुँच बढाइने जनाइएको छ । साथै पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थानमा सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपा उपप्रमुख हरिप्रभा श्रेष्ठ जानकारी दिनुभयो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology