बुधबार, चैत्र २६, २०७६
रङ्गशाला निर्माणको काम स्थगित - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

रङ्गशाला निर्माणको काम स्थगित



भरतपुर, ९ चैत : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ ।

फाउण्डेशनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको जानकारी गराएको हो ।

फाउण्डेशनले विज्ञप्तिमा विभिन्न सुरक्षाका उपायहरु अपनाएर रङ्गशाला निर्माणलाई निरन्तरता दिइरहेको भए पनि सरकारले गरेको निर्देशनबमोजिम २५ जना भेला हुन नपाइने भएकाले निर्माणको कामलाई तत्कालका लागि स्थगन गरिएको उल्लेख छ ।

फाउण्डेशनको विज्ञप्तिमा विश्व कोरोनाको त्रासले आक्रान्त भएको अवस्थामा सामान्य जनजीवनदेखि राष्ट्रिय गौरवका आयोजना र परियोजनासमेत प्रभावित भइरहेकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अछुतो रहने कुरै भएन भन्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कामलाई तीव्रताका साथ अघि बढाइरहेका थियौँ, कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै कामदारबाहेक अन्यलाई रङ्गशाला प्रवेशमा रोक लगाउनुका साथै कार्यस्थलभित्र प्रवेश गर्ने हरेकको ज्वरो नाप्ने र ह्याण्ड स्यानिटाइजरको प्रयोग पनि सकेसम्म गरिरहेका थियौँ । कोरोना सङ्क्रमणप्रति जसरी राज्य संवेदनशील बनेको छ त्यसैगरी हामीले निर्णय लिनु उपयुक्त ठानेका छौँ ।’

रङ्गशाला निर्माणको काम अझै तीव्रगतिमा अगाडि बढाउने योजना बनाउँदै गर्दा सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेकाले रङ्गशालामा कामदार मात्रै साढे दुई सयभन्दा बढी भएकाले पनि काम स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्माण सामग्री, ढुवानीलगायतका कुरामा पनि प्रभाव पर्ने देखिसकिएको छ । मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो । त्यसैले सबैको स्वास्थ्य संवदेनशीलतालाई दृष्टिगत गर्दै रङ्गशाला निर्माणको काम केही समय (सामान्य अवस्था नहुन्जेलसम्म) स्थगन गर्ने निर्णयमा पुगेका छौँ ।’

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology